काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच ऐतिहासिक एकता घोषणा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री सुशीला कार्की र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितिमा एनआरएनएको एकता सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
११औँ महाधिवेशनबाट निर्वाचित डा. बद्री केसी र अध्यक्ष महेश श्रेष्ठबीच बृहत् एकताको सम्झौतामा हस्ताक्षर भएको छ। सञ्चारमन्त्री खरेलको विशेष पहल र अग्रसरतामा एनआरएनका दुई समूहबीच ऐतिहासिक एकता कायम भएको हो। सहमतिपत्रमा ११औँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कार्यसमितिका अध्यक्ष बद्री केसी र एकताको महाधिवेशनबाट निर्वाचित कार्यसमितिका अध्यक्ष महेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।
सो अवसरमा सञ्चारमन्त्री खरेलले बृहत् एकतालाई दिगो बनाउन आग्रह गरे। उनले भने, ‘आज एनआरएनएबीच बृहत् एकताको हस्ताक्षर भएको छ। यो हस्ताक्षर कागजमा भएको छ। यो हस्ताक्षर मन र मस्तिस्क दुवैमा कायम रहोस् । व्यावहारिक कार्यान्वयन र दिगो रूपमा एकता अगाडि बढोस्। फुटेर होइन, जुटेरै अगाडि बढ्न सकिन्छ । एकता सम्भव बनाउन भूमिका खेल्ने सबैप्रति धन्यवाद तथा शुभकामना व्यक्त गर्दछु ।’
सञ्चारमन्त्री खरेलले एनआरएनएको एकताले ८० लाख गैरआवासीय नेपालीहरूलाई सकारात्मक सन्देश दिएको उल्लेख गरे । उनले भने, ‘नेपालमा एनआरएनएको स्थापनाको आरोहअवरोहमा छुट्टै ओज, गरिमा, विश्वास र सम्मान यहाँहरूले कायम गर्नुभएको थियो । पछिल्ला वर्षहरूमा यो खस्किँदै गयो । किनकि एनआरएनएबीच विभाजन आयो । अहिले एउटा ठूलो अवसर आएको छ । एनआरएनलाई पार्टीभन्दा माथि उठेर जनताको संस्थाको रूपमा स्थापित गराउनुस् ।’
मन्त्री खरेलले भूकम्प, नाकाबन्दी, कोरोना भाइरस महामारीलगायत विपद्का समयमा गरिआएको सहयोग सराहनीय रहेको भन्दै एनआरएनएलाई राजनीतिभन्दा माथि उठेर मुलुकको आर्थिक समृद्धिका लागि बढीभन्दा बढी लगानी भित्र्याउन पहल गर्न आग्रह गरे । उनले एनआरएनएले जोखिम मोलेर गरिरहेको लगानीको प्रशंसासमेत गरे । उनले एनआरएनएले उठाएको मुद्दालाई सरकारको तर्फबाट सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।
एनआरएनएका अध्यक्ष डा. केसीले एनआरएनएबीचको एकताले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सकारात्मक सन्देश दिएको भन्दै नेपालको आर्थिक विकासमा सक्रिय ढंगले लाग्ने प्रतिबद्धता जनाए। उनले एनआरएनएलाई अब राजनीतिक कोणबाट कहिल्यै विभाजन नहुने गरी कानुनी व्यवस्था हुनुपर्नेमा जोड दिए।
अध्यक्ष केसीले भने, ‘हामी चार वर्ष अलमलिएका थियौँ। संस्थाभित्र मतान्तर थियो। तर पनि सोच र कार्यशैलीबाट भिन्न थिएनौँ, यो एकताले संस्थालाई बलियो बनाएको छ। यो एकता भनेको अठोट र विश्वासको हो, सम्पूर्ण ८० लाख नेपालीको एकता पनि हो।’
डा. केसीले एनआरएनएबीचको एकतालाई यो अवस्थामा ल्याउन विशेष भूमिका निर्वाह गर्ने सञ्चारमन्त्री खरेललाई विशेष धन्यवाद ज्ञापन गरे। अर्का अध्यक्ष श्रेष्ठले बृहत् एकताको घोषणाले गैरआवासीय नेपालीबीचको भावनात्मक एकता भई समृद्ध नेपाल निर्माणमा सक्रिय भएर जुट्न प्रेरणा मिलेको बताए। उनले भने, ‘लामो समयको बेमेल र असमझदारीलाई यस एकताको सम्झौताले चिर्नेछ। एकतालाई दिगो बनाएर, ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन मद्दत पुग्नेछ।’
एनआरएनए पछिल्लो केही वर्षदेखि केसी र श्रेष्ठको नेतृत्वमा क्रियाशील रहँदै आएकोमा अब दुवै संस्थाको नेतृत्व दशबुँदे सहमति गर्दै एकताबद्ध भएका छन्। एकतापछि अबको चार महिनाभित्र १२औँ महाधिवेशन गर्ने सहमति जुटेको छ।



About Us
प्रतिक्रिया