मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सोमबारसम्म आउने


काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको मौद्रिक नीति समिक्षा सोमबारसम्ममा सार्वजनिक गर्ने भएको छ । केन्द्रीय बैंकले आजै अर्थात् शुक्रबार नै मौद्रिक नीति समिक्षा सार्वजनिक गरेपनि प्राविधिक समस्याले आज सार्वजनिक नहुने बताएको हो ।

केन्द्रीय बैंकले पहिलो त्रैमासको मौद्रिक नीति समिक्षा सकेसम्म आइतबार सार्वजनिक गर्ने तयारी गरिरहेको छ । तर, केही समस्या सिर्जना भएमा भने सोमबार समिक्षा सार्वजनिक गर्नेछ । यता, पहिलो त्रैमासिक समीक्षा त्रैमास सकिएको ४५ दिनभित्र सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेका कारण पनि केन्द्रीय बैंकले सोमबार अर्थात् १५ गते मौद्रिक नीति समिक्षा सार्वजनिक गर्नेछ ।

यतिबेला बैंक तथा वित्तीय संस्थाका तथा सरोकारवालाहरु भने राष्ट्र बैंकले मौद्रिक नीति समिक्षामार्फत कस्तो नीति लिन्छ भन्दै तीव्र प्रतिक्षामा छन् । राष्ट्र बैंकका गभर्नरले मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थामा थुप्रिएर बसेको तरलता लगानी हुने किसिमको नीति लिन सक्ने बैंकरहरु बताउँछन् । साथै, बैंकहरुले गर्नुपर्ने प्रोभिजन समेत बढेकाले राष्ट्र बैंकले यसमा पनि केही हेरफेर गर्न सक्ने उनीहरूको बुझाइ छ ।