डिजिटल बैंकिङ्गबारे जानकारी लिएर मात्र कारोबार गर्न राष्ट्र बैंकको आग्रह


काठमाडौं – नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ्गबारे जानकारी लिएर मात्र कारोबार गर्न आग्रह गरेको छ । केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सन्देश जारी गर्दै जानकारी लिएर मात्र कारोबार गर्नुपर्ने बताएको हो ।

ग्राहकहरूलाई डिजिटल भुक्तानी सेवा स्वतन्त्र रूपमा व्यवस्थापन गर्ने सुविधा प्रदान गर्दै सुरक्षा र सहजता सुनिश्चित गर्ने उद्देश्यले आफूले प्रयोग गरिरहेको विविध विद्युतीय भुक्तानीसम्बन्धी सेवाहरू विभिन्न कारणवश प्रयोग गर्न नमिल्ने अवस्थामा स्वयम्ले आधिकारिक मोबाइल एप वा वेब पोर्टलमार्फत निष्क्रिय गर्न सकिने तथा त्यस्तो सेवा पुनः प्रयोग गर्नुपरेमा फेरि सोही मोबाइल एप वा वेब पोर्टलमार्फत सक्रिय गर्न सकिने व्यवस्था रहेको जानकारी दिएको छ ।

यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले उपर्युक्त सेवाका लागि आफ्नो एप वा वेब पोर्टलमा आवश्यक व्यवस्था मिलाउनुपर्ने प्रावधान नेपाल राष्ट्र बैंकबाट जारी गरिएको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ को ग्राहक हित संरक्षणसम्बन्धी व्यवस्थामा रहेको जानकारी गराएको हो ।