भ्रष्टाचार गरेपछि मृत्युदण्ड

भ्रष्टाचार गरेपछि मृत्युदण्ड


बैंकिङ्ग समाचार, काठमाडौँ।
चाइना लाइफ इन्स्योरेन्स ग्रुपका अध्यक्ष तथा पार्टीको पूर्व प्रमुख वाङ बिनलाई घूस लिएको र विदेशमा बचत लुकाएको अभियोगमा मङ्गलबार दुई वर्षको जेलपछि मृत्युदण्डको सजाय कार्यान्वयन हुने फैसला गरेको छ ।

दुई वर्षको जेल सजायपछि वाङको मृत्युदण्डलाई कानुनबमोजिम आजीवन कारावासमा परिणत गर्न सकिने छ तर थप कटौती वा छुट प्रदान गरिने छैन । पूर्वी चीनको शान्दोङ प्रान्तको जिनानस्थित ‘इन्टरमिडिएट पिपुल्स कोर्ट’ले उक्त फैसला सुनाएको हो ।

सन् १९९७ देखि २०२१ को बीचमा वाङले विभिन्न वित्तीय संस्थामा आफ्नो ओहदाको फाइदा उठाउँदै अरूका लागि फाइदा लिन खोजेको र बदलामा उनले ३२ करोड ५० लाख युआन करिब चार करोड ५० लाख अमेरिकी डलर बराबरको पैसा र बहुमूल्य सामान प्रत्यक्ष वा आफ्ना नातेदारमार्फत् गैरकानुनी रूपमा लिएको स्वीकारेका थिए । 

चाईना डेलीका अनुसार चिनियाँ सरकारी अनुसन्धानकर्ताहरुले वाङ पिङले विभिन्न सार्वजनिक कम्पनीहरुमा बसेर काम गर्दा करिब चार करोड ५० लाख अमेरिकी डलर भ्रष्टाचार गरी विदेशी बैंकमा पुर्याएर आफन्तको नाममा लुकाएको तथ्य फेला परेको थियो । अनुसन्धानको क्रममा उनले हङकङमा रहेका विदेशी बैंकमा आफन्तको नाममा खाता खोलेर ५६.४ मिलियन युवान बराबरको रकम लुकाएको तथ्य उजागर भएको थियो ।

फैसलाबमोजिम प्रतिवादीलाई आजीवन राजनीतिक अधिकारबाट बञ्चित गरिएको र निजको व्यक्तिगत सम्पत्ति जफत गरिएको छ ।