बैंकका हरेक शाखाले विदेशी मुद्राको कारोबार गर्न पाउने, खरीद अनिवार्य

बैंकका हरेक शाखाले विदेशी मुद्राको कारोबार गर्न पाउने, खरीद अनिवार्य


बैकिङ्ग समाचार ।

वाणिज्य बैंकका सबै शाखाले विदेशी मुद्रा खरीद गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकको यो व्यवस्थाले देशैभरीबाट विदेशी मुद्रा बैंकलाई बिक्री गर्न सकिने अवस्था बनेको हो ।

बैंकहरुले विदेशी मुद्राको कारोबार गर्न शाखा अनुसार लाइसेन्स लिने व्यवस्था समेत खारेज गरी एउटा अनुमतिपत्रले नै काम गर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ जारी गर्दै सबै शाखाले विदेशी मुद्रा अनिवार्य खरीद गर्ने व्यवस्था गरेको हो । केन्द्रीय बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०६७ लाई संशोधन गरी समय सापेक्ष बनाई लागू गरेको हो ।

विनियमावली अनुसार बैंक तथा वित्तीय संस्थाले एकमुष्ट रुपमा प्राप्त गरेको इजाजतपत्रको आधारमा आफ्ना शाखाहरूबाट विदेशी विनिमयको कारोबार गर्न सक्नेछन् । त्यसैगरी सम्पूर्ण शाखाहरूले कम्तिमा पनि विदेशी मुद्रा खरीद गर्नुपर्ने व्यवस्था छ ।

विदेशी विनिमय कारोबारको इजाजतपत्र प्राप्त गर्न बैंकले एकमुष्ट ५ लाख रुपैयाँ बुझाउनु पर्छ । राष्ट्रिय स्तरका विकास बैंकले १ लाख रुपैयाँ, प्रादेशिक स्तरका विकास बैंक र सबै स्तरका वित्त कम्पनीहरूले २० हजार रुपैयाँ राष्ट्र बैंकलाइ बुझाउनु पर्नेछ । राष्ट्र

 बैंकले बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूलाई विदेशी विनिमय खरीद÷बिक्री तथा तोकिए बमोजिमको विदेशी विनिमय सम्बन्धी अन्य कार्य गर्ने गरी ५ वर्षको लागि अनुमति पत्र दिनेछ ।

शाखा अनुसार इजाजतपत्र प्राप्त गरेका बैंक तथा वित्तीय संस्थाले विनियमावली लागू भएको दुई महिनाभित्र विदेशी विनिमय कारोबार गर्ने शाखाहरूको नाम, ठेगाना सहित नवीकरणको निवेदन दिए सम्पूर्ण स्थानको लागि एउटै इजाजतपत्र दिइने व्यवस्था छ ।

विदेशी विनिमयको कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले पनि विदेशी विनिमयमा कारोबार गर्न चाहे इजाजतपत्रको लागि निवेदन दिन सक्नेछन । यसरी निवेदन दिँदा कारोबार गर्ने स्थान÷क्षेत्र किटान गरी केन्द्रीय बैंकमा निवेदन दिनु पर्नेछ ।

विनियमावलीले क्यासीनोलाइ समेत समेटेको छ । राष्ट्र बैंकले निर्देशनका आधारमा नै क्यासीनोको विदेशी विनीयम कारोबारलाई नियमन गर्दै आएको थियो । क्यासीनोले इजाजतपत्रको लागि तोकिए बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ । 

प्रति कारोबार स्थानको लागि २५ लाख रुपैयाँ बराबरको २ वर्ष अवधिको बैंक जमानत र इजाजतपत्र शुल्क बापत एक लाख रुपैयाँ राष्ट्र बैंकमा बुझाउनु पर्ने व्यवस्था गरेको छ ।

तर, आधुनिक मेशिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेलको हकमा प्रति कारोबार स्थानको लागि १० लाख रुपैयाँ बराबरको २ वर्ष अवधिको बैंक जमानत र इजाजतपत्र शुल्क बापत ५० हजार रुपैयाँ राष्ट्र बैंकमा बुझाउनु पर्नेछ ।

विनियमाली अनुसार राष्ट्र बैंकले आवश्यकता अनुसार जुनसुकै समयमा इजाजतपत्रप्राप्त संस्थाको निरीक्षण तथा सुपरीवेक्षण गर्नेछ । राष्ट्र बैंकले सम्बन्धित इजाजतपत्रप्राप्त संस्थामा स्थलगत र गैरस्थलगत निरीक्षण गर्नेछ । यसरी निरीक्षणमा जाने निरीक्षक तथा सुपरीवेक्षकको आचारसंहिता समेत विनियमावलीले तय गरेको छ ।

केन्द्रीय बैंकले नियमन उल्लङ्घन गर्ने संस्थालाई एक वा एकभन्दा बढी सजाय, जरिवाना वा दुबै गर्न सक्नेछ । राष्ट्र बैंकले सचेत गराउने, लिखित चेतावनी दिने, विदेशी विनिमयको कुनै वा सबै कारोबारमा रोक लगाउने, बैंकमा रहेको नगद धरौटी जफत गर्ने वा जमानतबाट असुल गर्ने, नियमन उल्लङ्घनको प्रकृति हेरी १० लाख रुपैयाँसम्म नगद जरिवाना गर्ने र इजाजतपत्र निलम्बन वा रद्द गर्न सक्नेछ ।