लाभांश पारित गर्न शिवम् सिमेन्टले बोलायो साधारणसभा


काठमाडौं – शिवम् सिमेन्ट लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न दशौं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले यही मंसिर २५ गते काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा बिहान साढे १० बजे सो सभा बस्ने निर्णय गरेको हाे।

सो सभाले आफ्ना शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको २.५० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ। साथै, गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गरिनेछ।

साधारणसभा तथा लाभांश विरतण प्रयोजनार्थ कम्पनीले मंसिर ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा मंसिर १० गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।