वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ४१ लाख  ठगी गर्ने दुई जना पक्राउ


काठमाडौं – वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका– ७ बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका– ७ घर भएका २२ वर्षीय आदर्श तिमल्सिना र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका– ४ घर भएका ३४ वर्षीय आशिष खोखाली रहेका छन्। 

पक्राउ परेकामध्ये आदर्शले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३० लाख ५० हजार रूपैयाँ र आशिषले ११ लाख ५० हजार रूपैयाँ लिई फरार भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका– १२ बाट आदर्शलाई आइतबार र आशिषलाई सोमबार पक्राउ गरेको हो। 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।