सुन भन्सार चोरी पैठारी मुद्दाका फरार दुई प्रतिवादी प्रहरीको फन्दामा 


काठमाडौं – कारागार कार्यालय जगन्नाथदेवल, सुन्धाराबाट फरार भएका दुई जना कैदीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ। सीआईबीका अनुसार, फरार दुवैजना अलग–अलग मुद्दामा कैद सजाय भुक्तान गरिरहेका थिए। 

जिउ मास्ने बेच्ने मुद्दामा जिल्ला धादिङ गजुरी गाउँपालिका–२ घर भएकी ४४ वर्षीया शान्ति भन्ने गीता लामा २२ वर्ष कैद सजाय भुक्तान गर्दै आएका थिइन्। उनी २०७६ मंसिर १९ गतेदेखि कैद काटिरहेकी थिइन्। यस्तै, सुन भन्सार चोरी पैठारी मुद्दामा १ वर्ष कैद र एक कारोड ८ लाख जरिवाना तिर्नुपर्ने सजाय पाएका काठमाडौं महानगरपालिका–३ महाराजगञ्ज घर भएका ३३ वर्षीय मोहन महर्जन २०८१ चैत ६ गतेदेखि कैद भुक्तान गरिरहेका थिए।

दुवैजना २०८२ साउन २४ गते जेनजी आन्दोलनका क्रममा कारागार कार्यालयबाट फरार भएका थिए। फरारकै खोजतलासमा खटिएको प्रहरी टोलीले  लामालाई २०८२ कार्तिक १ गते ललितपुर महानगरपालिका–३ धोबिघाटबाट पक्राउ गरेको हो।

त्यसैगरी, महर्जनलाई २०८२ कार्तिक ३० गते काठमाडौं महानगरपालिका–१७ धोबिचौरबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ। पक्राउ परेका दुवै कैदीलाई आवश्यक प्रक्रिया पूरा गरी पुनः कारागार कार्यालय जगन्नाथदेवमा पेस गरिएको प्रहरीले जनाएको छ।