जेनजी आन्दोलन र बाढीका कारण निर्जीवन बीमकको नाफामा पहिरो, १२ वटा कम्पनी घाटामा


काठमाडौं – गत भदौ २३/२४ गते भएका जेनजी आन्दोलन र असोजको महिनामा आएको बेमौसमी बढीका कारण निर्जीवन बीमा कम्पनीहरुमो नाफा प्रभावित बनेको छ । कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको रिपोर्टअनुसार आन्दोलन र बाढीका कारण वित्तीय सूचक प्रभावित देखिएको हो ।

पहिलो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा १ अर्ब ९५ करोड ६४ लाख ऋणात्मक रहेको छ । जेनजी आन्दोलन र बढीका कारण सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरुमध्ये १२ वटाले घाटा व्यहोर्नुपरेको हो । प्रभु इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स बाहेक अन्य सबै निर्जीवन बीमा कम्पनीहरुले नोक्सान व्यहोरेका हुन् ।

असोज मसान्तसम्म प्रभु इन्स्योरेन्स कम्पनीले ६ करोड ३१ लाख नाफा कमाएको छ भने नेशनल इन्स्योरेन्स कम्पनीले ३ करोड ८१ लाख नाफा आर्जन गरेको छ । असोज मसान्तसम्ममा सबैभन्दा बढी घाटा व्यहोर्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । यस अवधिमा कम्पनीको नाफा २९ करोड ८५ लाख ऋणात्मक रहेको छ।

यस्तै, दि ओरियन्टल इन्स्योरेन्सको २८ करोड ४८ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २६ करोड ७३ लाख, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको २० करोड ७६ लाख, सानिमा जिआइसी इन्स्योरेन्सको २० करोड २ लाख नाफा ऋणात्मक रहेको छ । त्यस्तै, शिखर इन्स्योरेन्सको १५ करोड ८५ लाख, युनाइटेड अजोड इन्स्योरेन्सको १५ करोड ११ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सको १० करोड ९३ लाख, एनएलजी इन्स्योरेन्सको १० करोड १० लाख, नेपाल इन्स्योरेन्सको ९ करोड ६३ लाख, राष्ट्रिय बीमा कम्पनीको खुद नाफा ९ करोड ९५ लाख र नेको इन्स्योरेन्सको ८ करोड ३१ लाख खुद नाफा ऋणात्मक रहेको छ ।