३३ औँ महानिरीक्षक कार्की सामु यस्ता छन् चुनौतीका चाङ 


काठमाडौं – नेपाल प्रहरीलाई २३ र २४ मा भएको जेनजी आन्दोलनको घाउ अझै ताजै छ। यही संवेदनशील समयमा प्रहरीले नयाँ महानिरीक्षक (आइजिपी) पाएको छ। गत साताको सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले ३३ औँ आइजिपीमा दान बहादुर कार्कीलाई नियुक्त गरेको हो। 

काकीलाई प्रहरी संगठन हाँक्ने सर्वोच्च पदमा रहेर काम गर्ने अवसर प्राप्त भएको छ। निवर्तमान आइजीपी चन्द्र कुवेर खापुङले आफ्नो २ महिने कार्यकालमा गर्न नसकेका कामहरू कार्कीको टाउको आएको छ। विवादरहित नियुक्ति पाएका चन्द्र कुवेर खापुङ नेपाल प्रहरीको महानिरीक्षकबाट बिदा भएका छन्।

तर, कार्की भने शक्तिशाली आईजीपीकारुपमा प्रहरीको नेतृत्व गर्न आइपुगेका छन्। २९ महिने कार्यकाल रहेका उनको टाउकोमा जिम्मेवारीको चाप पनि उत्तिकै छन्। पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका अनुसार कार्कीले आगामी निर्वाचनलाई दृष्टिगत गर्दै देशमा शान्ति–सुरक्षाको अवस्था सुदृढ बनाउनुपर्ने छ। उनका अनुसार हालको परिस्थितिमा प्रहरी संगठनले विभिन्न चुनौतीहरूको सामना गर्नुपर्नेछ।

जेनजी आन्दोलनका क्रममा खस्किएको प्रहरीको मनोबल उठाउनु अहिलेको प्रमुख कार्य भएको उनले बताए। खनालले भने, ‘कार्कीमाथि धेरै चुनौतीहरू छन्। तर, ती सबै चुनौतीको सामना गर्ने क्षमता उहाँसँग छ।’ उनका अनुसार संगठनको मनोबल उच्च राख्दै निर्वाचनमा शान्ति–सुरक्षा सुनिश्चित गर्न सकेमा समग्र व्यवस्थापकीय विश्वास पुनः स्थापित हुने अपेक्षा गरिएको छ। खनालले प्रहरी प्रशासनले कानून–व्यवस्था कायम राख्न निष्पक्षता र व्यावसायिकतामा जोड दिनुपर्ने बताए।

भदौ २३ र २४ गतेको आन्दोलन र तोडफोड तथा प्रहरीमाथिको आक्रमणले प्रहरीको मनोबलमा ठुलो चोट पुर्‍याएको छ। संगठनभित्रका स्रोतहरूका अनुसार, प्रदर्शन नियन्त्रणका क्रममा स्पष्ट निर्देशनको अभाव, तयारीको कमी र राजनैतिक दबाबका कारण धेरै निर्णय समयमा हुन सकेनन्। प्रहरी संगठनमाथि जनविश्वास घटेको विश्लेषण पनि गरिएको छ। कार्कीले जेनजी आन्दोलनमा गुमेको प्रहरीको मनोबल उठाउँदै देश र जनताका लागि सुरक्षा दिनुपर्नेछ।

कार्की आइजिपी भएपछिको सबैभन्दा प्रमुख काम नै प्रहरीको मनोबल बढाउनु हो। कार्की यही कात्तिक २७ गतेबाट २९ महिना अर्थात् २०८४ चैत्र १७ गते सम्मका लागि महानिरीक्षकको जिम्मेवारी सम्हाल्दै छन्। जेनजी आन्दोलनमा सबैभन्दा बढी प्रभावित भएको निकाय प्रहरी हो। खापुङ महानिरीक्षकका रूपमा जिम्मेवारी लिएको १ हप्ता नबित्दै भएको जेनजी आन्दोलनले सरकार र सर्वसाधारणको चेपुवामा परेको प्रहरीले भवन गाडी हतियार मात्र नभई तीन जना प्रहरी अधिकृतहरू नै गुमाएका छन्।

राजनीतिक हस्तक्षेपविहीन अनुसन्धान

कार्कीका लागि चुनौतीका चाप सँगै अनुसन्धानका लागि उपयुक्त समय रहेको छ। राजनीतिक हस्तक्षेपका कारण वर्षौँदेखि थन्किएका अनुसन्धान कार्यहरू पुनः अनुसन्धान गर्ने राम्रो अवसर उनले पाएका छन्। ‘हाइप्रोफाइल’ प्रकरणहरूमा राजनीतिक प्रभावका कारण अनुसन्धान बीचमै रोकिएको वा ढिलाइ भएको गुनासो हुँदै आएको छ।

तर, हाल कुनै राजनीतिक दलको सरकार नरहेकाले अनुसन्धानका क्षेत्रमा अपेक्षाकृत स्वतन्त्रता र सहजता आएको छ। राजनीतिक दबाब र प्रभावका कारण अनुसन्धानकर्तालाई वस्तुगत र निष्पक्ष ढङ्गले काम गर्न सहज बन्ने छ। यसअघि सरकार र सत्ताको आडमा आपराधिक गतिविधि गर्नेहरूलाई कानुनी दायरामा ल्याउने यो उपयुक्त समय हो।

निम्न तहका प्रहरीको वृत्ति विकास र व्यवस्थापन

उनीमाथि रहेको अर्को चुनौतीमा तल्लो तहमा रहेका प्रहरी जवानहरू र हवलदारको तलब भत्ता र सेवा सुविधासमेत छ। कुनै पनि संगठनमा कर्मचारीका लागि उत्प्रेरणा महत्त्वपूर्ण पक्ष हो। उत्प्रेरणा दुई किसिमका हुन्छन्, मौद्रिक र गैह्र मौद्रिक। देशको शान्ति सुरक्षामा खटिने प्रहरीका लागि भित्रबाटै जाग्ने गैह्र मौद्रिक उत्प्रेरणाको खाँचो नभए पनि मौद्रिक पाटोमा भने सङ्गठनको नेतृत्वले नै ध्यान दिनुपर्ने हुन्छ।

सरकारले निर्धारण गरेको सेवा सुविधाबाट जवान र हवलदारहरूमा निराश बढेर जागिर छाड्ने क्रम झनै बढ्दो अवस्थामा पुगेको छ। साथै, जेनजी आन्दोलन पछि एसएसपी तहसम्मका प्रहरीहरूले जागिर छाडेका छन्। आन्दोलनले प्रहरीको मनोबल खस्किएकाले गर्दा पनि कतिपय प्रहरीहरूले जागिर छाडेका छन्। कार्कीले प्रहरी कर्मचारीको मनोबल बढाउँदै सरकार र आम जनसमुदायको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

आर्थिक तथा वित्तीय अपराध नियन्त्रण 

पछिल्ला वर्षहरूमा बैंकिङ्ग कसुर तथा आर्थिक अपराधका घटनाहरू लगातार बढ्दै गएका छन्। सहकारी संस्थाहरूमा ठगीका घटना, वाणिज्य तथा विकास बैंकका उच्च तहमा बसेर रकम दुरुपयोग र मनी लन्डरिङ जस्ता क्रियाकलापका घटनाहरू बाहिरिएसँगै आर्थिक क्षेत्रको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेका छन्। त्यसैले गर्दा राष्ट्र बैंकको समन्वयमा आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई अनुसन्धानका दायरामा ल्याउनु पर्ने कार्कीको अर्को चुनौती रहेको छ।

कस्तो रह्यो खापुङको कार्यकाल ?

निवर्तमान आईजीपी खापुङको ब्याजमा उनी एक्ला प्रतिस्पर्धी भएका कारणले गर्दा उनी आइजिपी हुने निर्णय सरकारले ६ दिन पहिले नै गरेको थियो। जति सहज उनको नियुक्ति भएको त्यति नै असहज उनको कार्यकाल बन्न पुग्यो। खापुङले तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडीबाट महानिरीक्षकको फुली लगाउँदै जिम्मेवारी सम्हालेका थिए। तर, उनको ७० दिनको कार्यकाल संगठनका दृष्टिले सबैभन्दा कठिन साबित भयो।

खापुङको नियुक्तिको एक हप्तापछि नै देशभर ठुलो राजनीतिक तथा सामाजिक अशान्ति मच्चियो। जेनजी आन्दोलनका नाममा सुरु भएको विरोध प्रदर्शनले हिंसात्मक रूप लिँदा ७६ जनाको ज्यान गयो। राजधानीदेखि मोफसलसम्मका प्रहरी कार्यालयहरूमा आगजनी, तोडफोड र हातहतियार लुटपाट भए। कैयौँ प्रहरी कर्मचारी घाइते भए भने कैदी बन्दीहरू कारागारबाट फरार भए।

२३ गते माइतीघर मण्डलाबाट शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शन नयाँ बानेश्वरतर्फ बढ्दै जाँदा अवस्था नियन्त्रणबाहिर पुग्यो। निषेधित क्षेत्र तोड्दै संसद् भवन अगाडि प्रदर्शनकारीले प्रहरीसँग झडप गरे। संसद् भवनको पर्खाल भत्काइयो, गेटमा आगो लगाइयो, केही प्रदर्शनकारी भित्र छिरे। राजधानीका मुख्य सडकहरू अशान्त बने।