नेप्सेमा सूचीकृत ५ उद्योगले तिरे बिजुलीको बक्यौता, कुनले कति ?


काठमाडौं – नेपाल विद्युत प्राधिकरणले हालसम्म ३५ वटा उद्योगबाट करिब २४ करोड रुपैयाँ महशुल असुल गरेको छ। प्राधिकरणका अनुसार डेडिकेटेड तथा ट्रंक लाइन संरचनाबाट विद्युत उपभोग गरेका ती उद्योगले पहिलो किस्ता र किस्ताबन्दीलाई निरन्तरता दिएसँगै प्राधिकरणले २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ असुल गरेको हो।

हालसम्म बक्यौता रकम बुझाएका ३५ उद्योगमध्ये ४ उद्योग नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत उद्योगले समेत बक्यौता बुझाएका छन्। र, एक कम्पनी आईपीओ निष्कासन गरेर दोस्रो बजारमा आउने तरखरमा रहेको उद्योगले समेत बक्यौता तिरेको छ। प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन विद्युत बक्यौता नतिरेपछि बिजुली काटेका २५ कम्पनीमध्ये नेप्सेमा सूचिकृत सिवम् सिमेन्ट, सोनापुर मिनरल एण्ड आयल र घोराही सिमेन्ट र सर्वाेत्तम सिमेन्ट समेत थिए।

यी उद्योगहरुले समेत डेडिकेटेड र ट्रंक लाईनको बक्यौता रकम तिरेका हुन्। त्यस्तै, लामो समयदेखि आईपीओ निष्काशनको पर्खाइमा बसेको रिलायन्स स्पिनिङ मिल्सले समेत बक्यौता रकम बुझाएको छ। यस कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेवोन) बाट गत असार १२ गते नै आईपीओ निष्काशनका लागि अनुमति समेत पाइसकेको छ।

कुन उद्योगले कति तिरे ?
नेप्सेमा सूचीकृत ४ वटा उद्योगले समेत बक्यौताको रकम तिरेको प्राधिकरणले जनाएको छ। जसमध्ये, सोनापुर मिनरल एन्ड आयलले ८६ लाख ३० हजार रुपैयाँ बक्यौता बुझाएको छ। यस्तै, शिवम् सिमेन्टले २ करोड ३८ लाख रुपैयाँ बक्यौता बुझाउँदा घोराही सिमेन्टले १ करोड ८१ लाख रुपैयाँ बक्यौता तिरेको छ। 

यसैगरी, घोराही सिमेन्टले ५० करोड ८५ लाख बक्यौता तिर्न बाँकी थियो। यी ४ वटै उद्योग कम्पनीहरूले प्राधिकरणलाई बक्यौता तिरेपछि विद्युत लाईन पुनः जोडिएका छन्। जसमध्ये यसअघि बक्यौता तिर्न सुरु गरी त्यसलाई निरन्तरता नदिएका १० उद्योगमध्ये सर्वोत्तम सिमेन्टले किस्ताबन्दीलाई निरन्तरता दिएको छ। यस उद्योगले प्राधिकरणले सूचना प्रकाशित गर्नुभन्दा अगाडि ७५ लाख २६ हजार रुपैयाँको बक्यौता तिरेको थियो।

सूचना प्रकाशनपछि यो उद्योगले ४० लाख रुपैयाँको दोस्रो किस्ताको बक्यौता तिरेको हो। यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेबापतको प्रिमियम महसुल रहेको प्राधिकरणले जनाएको  छ। प्राधिकरणले लामो समय विवादित बन्दै आएको डेडिकेटेड र ट्रंकलाइन विद्युत महसुल नतिरेको भन्दै कात्तिक ४ र ७ गते बक्यौता नबुझाएका २५ उद्योगको विद्युत काटेको थियो।

यसबाहेक, साधारण शेयर बिक्री गरेर दोस्रो बजारमा आउने तरखरमा रहेको रिलायन्स स्पिनिङ मिल्सले समेत २ करोड ७७ लाख बक्यौता तिरेको छ। यो कम्पनीले यसअघिदेखि नै ‘प्रिमियम’मा आईपीओ बिक्रीको तरखर गरिरहेको छ । तर, विविद् कारणले गर्दा बिक्री गर्न पाएको छैन।