आइजिपी कार्कीले कार्यभार सम्हाल्दै भने,‘घरकै काम सम्झेर मुलुकलाई शिरमा राखेर खटिनेछु’


काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले कार्यभार सम्हालेका छन्। कार्कीले संगठनको नेतृत्वको जिम्मेवारी सम्हाल्दै प्रहरी कर्मचारीहरूको साहस, चरित्र र व्यावसायिकतालाई साङ्गठनिक लक्ष्य प्राप्ति गर्ने पथप्रदर्शक शक्ति र सामर्थ्यको रूपमा लिएको बताए। महानिरीक्षक कार्कीले अझ जनविश्वास आर्जन गर्न जनअपेक्षा अनुरूपको सेवा प्रवाह गर्न र आपराधिक तत्त्वहरूलाई निस्तेज गराई भयरहित समाज निर्माण गर्न आवश्यक रहेको बताए।

नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक कार्कीले प्रहरी संगठनको श्रीवृद्धिमा जोड दिँदै उक्त कुरा बताएका हुन्। प्रहरी महानिरीक्षक कार्कीले विशेष परिस्थितिमा निर्माण भएको विद्यमान सरकारले जनआकांक्षा अनुरूप देशमा सुशासन कायम गर्ने र निकट भविष्यमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने मूल अभीष्ट राखेको उल्लेख गरे।

कार्कीले भने,’विभिन्न आयामका सुरक्षा चुनौतीहरूको कारणले समग्र सुरक्षा संवेदनशीलता बढेको र यो विषम परिस्थिति र संकट पश्चात् उठ्दै गरेका प्रहरी संरचना र मनोबलको सन्दर्भमा प्राप्त यो जिम्मेवारी र समग्रमा नेपाल प्रहरी प्रति असाधारण किसिमका अपेक्षाहरू रहेको तथ्य प्रति आफू पूर्ण रूपमा जानकार र सजग छु।’

असामान्य र असाधारण सुरक्षा परिस्थितिमा राष्ट्र र नागरिकहरूको सेवाका लागि नेपाल प्रहरीका सकल दर्जाले लिएको अग्रसरता, साहस र धैर्यताको उच्च प्रशंसा गर्दै जस्तो सुकै प्रतिकुल परिस्थितिको अवस्थामा पनि तत्काल पुनर्जागृत भई राष्ट्र र जनताको सेवामा जुट्ने नेपाल प्रहरीको मूल चरित्र र सामर्थ्यलाई फेरी एक पटक पुनः पुष्टि गरेको उनले बताए। 

असाधारण परिस्थितिले असाधारण कर्तव्यपरायणताको अपेक्षा राखेको हुने बताउँदै प्रहरी महानिरीक्षक कार्कीले भने,‘आजको यस परिस्थितिमा हामीले हाम्रा व्यक्तिगत स्वार्थहरूलाई थाती राखेर सुशासनप्रतिको असाधारण जनअपेक्षा अनुरूपको संगठन निर्माण र तदनुरूपको सेवा प्रवाह गर्नका लागि अहोरात्र आफ्नै काम सम्झेर, घरकै काम सम्झेर मुलुकलाई शिरमा राखेर खटिनुपर्ने अवस्था छ। साधन स्रोतको अभावको देखाएर बसिराख्ने छुट हामीलाई प्राप्त छैन। भनिन्छ प्रतिकुल परिस्थितिमा नै मानिसहरूको वास्तविक क्षमताको मूल्याङ्कन हुन्छ। मान्छेको वास्तविक परिचय पनि त्यहीनिर हुन्छ।’  

नवीनतम प्रविधिको रूपमा साइबर सम्बन्धी अपराधहरू एवम् आर्थिक तथा वित्तीय प्रकृतिका अपराधहरू असाधारण रूपमा वृद्धि भइरहेको,लागूऔषधको दुर्व्यसन र दुरुपयोग,आत्महत्या तथा सडक दुर्घटनाका भयावह अवस्थाहरू रहेको उल्लेख गर्दै यस्ता चुनौतीहरूको सम्बोधन गर्न एकल प्रयास वा सीमित प्रहरी कर्मचारीहरूको प्रयासबाट मात्र सम्भव नहुने हुँदा सबैको सामूहिक सक्रियता, अग्रसरता र सृजनशीलता आवश्यक रहेको उनले बताए।