कोरोना प्रभावितले आगामी महिनाको अन्तिसम्ममा पुनरकर्जा पाउने

कोरोना प्रभावितले आगामी महिनाको अन्तिसम्ममा पुनरकर्जा पाउने


बैकिङ्ग समाचार ।
नेपाल राष्ट्र बैंकले कोरोना प्रभावितलाई सहुलियदरको पुनरकर्जा असोज महिनाको अन्तिम देखि वितरण सुरु गर्ने भएको छ । असोज १४ गतेसम्म बैंक तथा वित्तीय संस्थाबाट आएको प्रस्तावका आधारमा पुनरकर्जा वितरण सुरु गर्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।

बैंक वित्तीय संस्थाले पिडितको आवेदन आगामी असोज १५ गतेसम्म केन्द्रीय बैंकमा पेस गरेपछि पुनरकर्जा वितरण सुरु गरीने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए । “असोज १४ गतेसम्म बैंकहरुलाई पुनरकर्जाको प्रस्ताव पेश गर्न भनिएको छ,” उनले भने,“बैंकहरुले प्रस्ताव केन्द्रीय बैंकमा पेस गरे लगत्तै पुनरकर्जा सुरु हुनेछ ।”

केही दिन अघि राष्ट्र बैंकले कोरोना प्रभावित उद्योग व्यवसायका लागि पुनरकर्जा प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुसँग प्रस्ताव माग गरिसकेको छ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई एकमुस्ट रूपमा प्रदान हुने पुनर्कर्जाको लागि आवेदन आह्वान गरेको हो ।

राष्ट्र बैंकले यसअघि नै “नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७” लागू गरिसेको छ । कार्यविधि अनुसार एकमुष्ट रुपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, साधारण पुनरकर्जा तथा विशेष पुनरकर्जाका लागि आवेदन माग गरेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले भदौ १ गतेदेखि आगामी असोज १४ गतेसम्म आवेदन बुझाइ सक्नुपर्नेछ । राष्ट्र बैंकबाट प्राप्त हुने पुनरकर्जा कोभिड–१९ बाट अति प्रभावित तथा मध्यम प्रभावित क्षेत्रहरुमा प्रवाहित कर्जाहरुलाई उपलब्ध हुनेछ । बैंक तथा वित्तीय संस्थाले प्रदान गरेको असल कर्जाको धितोमा राष्ट्र बैंकले ऋण उपलब्ध गराउनेछ ।

राष्ट्र बैंकले प्रति ग्राहक १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यमको पुनर्कर्जा, ५ करोड रुपैयाँसम्मका विशेष र साधारण पुनरकर्जा बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराउनेछ । पुनर्कर्जाको ब्याजदर ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म तोकिएको छ ।

पुनरकर्जा आवेदनका साथमा इजाजत पत्रप्राप्त संस्थाको सञ्चालक समितिको निर्णय, शाखा कार्यालयहरुको ठेगाना तथा संचालन भएको मिति सहितको सूची पेस गर्नुपर्नेछ । संस्थाले माग गर्ने कूल पुनरकर्जा रकम संस्थाको प्राथमिक पुँजीको अधिकतम २५ प्रतिशतसम्म हुनुपर्नेछ । आवेदनको लागि छनौट गरिएके कर्जाको भुक्तानी अवधि न्यूनतम १ वर्ष बाँकी रहेको हुनुपर्ने, एकभन्दा बढी बैंक तथा वित्तीय संस्था मार्फत कर्जा उपयोग गरेका ऋणीको हकमा एक बैंकर वित्तीय संस्था मार्फत मात्र आवेदन भएको व्यहोरा आवेदकले सुनिश्चित गरेको हुनुपर्ने छ ।

यसैगरी पुनरकर्जाको लागि आवेदन गरिएको कुल रकम मध्ये कम्तिमा ७० प्रतिशत रकम लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा अन्तर्गत हुने गरी माग गर्नु पर्ने, आवेदनको लागि कर्जा छनौट गर्दा प्रत्येक शाखाबाट न्यूनतम ५ वटा ग्राहक र ऋणी समेटिएको हुनुपर्नेछ । आवेदन पेश गर्ने संस्थाको पुँजीकोष अनुपात राष्ट्र बैंकले तोके बमोजिम पुगेको हुनु पर्नेछ । इच्छुक ग्राहक ऋणीलाई आफुले सेवा लिइरहेको शाखामा पुनरकर्जा माग गरी निवेदन दिनु पर्नेछ ।