क्षणिक लाभको लोभमा हुण्डीबाट गैरकानुनी कारोबार नगर्न राष्ट्र बैंकको आग्रह


काठमाडौं – नेपाल राष्ट्र बैंकले क्षणिक लाभको लोभमा हुण्डीबाट गैरकानुनी कारोबार नगर्न आग्रह गरेको छ । केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सन्देश जारी गर्दै हुण्डीबाट गैरकानुनी कारोबार नगर्न आग्रह गरेको हो ।

हुण्डीसम्बन्धी कारोबारु भन्नाले प्रचलित कानुनबमोजिम मान्यताप्राप्त संस्था वा भुक्तानीको उपकरण बाहेकका अन्य व्यक्ति, उपकरण वा अन्य कुनै माध्यम प्रयोग गरी नेपालबाट विदेशमा वा विदेशबाट नेपालमा कुनै रकम वा मूल्य स्थानान्तरण वा हिसाबमिलान वा भुक्तानी लिने, दिने वा हुने गरी व्यवसाय बनाई गरिने कारोबार भन्ने बुझिन्छ । मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ क अनुसार कसैले पनि हुण्डीसम्बन्धी कारोबार गर्न वा गराउन नहुने उल्लेख छ ।

यता, रकम स्थानान्तरण सम्बन्धी कुनै पनि व्यावसायिक कारोबार वास्तविक हिसाबकिताब नदेखिने गरी सोसम्बन्धी रकम कुनै पनि माध्यमबाट भुक्तानी लिने वा दिने गर्नु नहुने बताएको छ । कसैले हुण्डीसम्बन्धी कसूर गरेमा बिगो र सोबाट बढे बढाएको सम्पत्तिसमेत जफत हुने र एक वर्षसम्मको कैद हुने कानुनी व्यवस्था नै छ । त्यसैले नेपालबाट विदेशमा वा विदेशबाट नेपालमा रकम स्थानान्तरण गर्दा राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था र विप्रेषण कम्पनीको मात्र प्रयोग गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।