नेपाल प्रहरीको ३३औँ आइजिपीमा दानबहादुर कार्की


काठमाडौं- नेपाल प्रहरीको महानिरीक्षक (आइजिपीमा) दानबहादुर कार्की नियुक्त भएका छन् । साेमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई महानिरीक्षकमा नियुक्त गरेको गरेकाे हाे । प्रहरीको ३० वर्षे अनिवार्य अवकाशपछि चन्द्र कुँवर खापुङ कार्तिक २६ गते बेलुका १२ बजेदेखि अनिवार्य अवकाशमा जानेछन्। त्यसैले मन्त्रिपरिषद्ले सोमबार नै नेपाल प्रहरीको नयाँ आइजीपीमा उनलाई नियुक्त गरेको हो।

हाल उपत्यका प्रहरी कमाण्डको नेतृत्व सम्हाल्दै आएका कार्कीले अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन र नागरिक–प्रहरी सहकार्यमा उल्लेखनीय सुधार ल्याएका छन् ।

कार्की २०५४ साल चैत १८ गते लोकसेवा आयोगमार्फत प्रहरी निरीक्षकका रूपमा प्रहरी सेवामा प्रवेश गरेका थिए । गुल्मीको मालिका गाँउपालिका–७ मा जन्मिएका कार्कीले पहिलो जागिर नै नेपाल प्रहरीबाट सुरु गरेका थिए । प्रहरी निरीक्षककारुपमा सङ्गठनमा भर्ना भएका कार्कीको सुरुवाती तलब मासिक चार हजार रुपैयाँ थियो ।

लोकसेवाको परीक्षा दिएर प्रहरी बन्ने पहिलो ब्याच नै उनी हुन् । उनको प्रहरीमा नियुक्तिको समयमा देशमा द्वन्द्वको अवस्था थियो । प्रहरीको आवश्यकता बढी पर्ने भएकाले उक्त समय नै उनको नियुक्ति भएको थियो । समाजको विकास, उन्नति, प्रगतिका साथै नागरिक आत्मबलका लागि समेत प्रहरीको उपस्थिति, अपरिहार्य रहेको कार्की बताउँछन् ।

डीएसपी हुँदा बानेश्वर क्षेत्रका प्रमुखका रूपमा अपराध नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेका उनले एसपीका रूपमा कपिलवस्तु र कास्कीमा सामुदायिक प्रहरी अवधारणालाई बलियो बनाएका थिए । एसएसपी हुँदा काठमाडौं प्रहरी प्रमुखका रूपमा राजधानीको सुरक्षा सञ्जाललाई प्रविधिमुखी र जन केन्द्रित बनाएका थिए ।

डिआइजी पदमा रहँदा केन्द्रीय प्रवक्ताका रूपमा प्रहरीका जनसरोकारका विषयहरू पारदर्शी र जिम्मेवार ढङ्गले प्रस्तुत गरेर संस्थाको विश्वसनीयता अभिवृद्धि गरेका कार्की लुम्बिनी प्रदेश प्रहरी प्रमुख हुँदा सङ्गठनलाई अनुशासन र जबाफदेहिताको नयाँ उचाइमा पुर्‍याउन सफल भएका थिए ।