बैंकहरुको मुद्धति निक्षेपमा लगानी गर्दै बीमा प्राधिकरण, बोलपत्र पेश गर्न आह्वान


काठमाडौं – नेपाल बीमा प्राधिकरणले वाणिज्य बैंक र विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । प्राधिकरणले बैंक मौज्दात लगानी नीतिअनुसार विभिन्न वाणिज्य बैंक र विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्नका लागी बोलपत्र आह्वान गरेको हो ।

प्राधिकरणले बैंकहरुले आफूले दिन सक्ने अधिकतम प्रतिफल उल्लेख गरी तपसिलको विवरणहरु खुल्ने गरी ७ दिनभित्र सिलबन्दी दरभाउपत्र पेश गर्न आह्वान गरेको हो । साथै पेश हुन आएको सिलबन्दी दरभाउपत्रको मान्य अवधि कम्तीमा १५ दिनको हुनुपर्ने प्राधिकरणले जनाएको छ ।

यस्तै, बैंकहरुले सिलबन्दी पेश गर्दा मुद्दती निक्षेपमा उपलब्ध गराउन सक्ने अधिकतम ब्याजदर, अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत तीन वर्षको नाफा नोक्सानको अवस्था, बैंकको निष्कृय सम्पत्ति, बैंकको कर्जा निक्षेप अनुपात, बैंक स्थापना भएको वर्ष र पूँजी पर्याप्तता कोषको विवरण खुलाउनुपर्नेछ ।

प्राधिकरणले मुद्धति निक्षेपमा लगानी गर्ने रकम भने खुलाएको छैन ।