फेसबुकबाट विभिन्न बैंकको नामका आकर्षक विज्ञापन पठाई ठगी, ३ जना पक्राउ


काठमाडौं – सामाजिक सञ्जाल फेसबुकबाट विभिन्न बैंकको नामका आकर्षक विज्ञापन मार्फत बाेनस पाउनुहोस् भन्दै ‘सर्वे लिंक’ पठाई प्रयोगकर्ताबाट बैंक विवरण लिई विभिन्न खाताबाट रकम अर्को खातामा स्थानान्तरण गर्ने तीन जनालाई साइबर ब्युरोले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा सांगाचोक गढी बस्ने ४० वर्षीय राजन गिरी, ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–८ निवासी हाल बुढानीलकण्ठ बस्ने २६ वर्षीया मिना लकान्द्री, र भारत बिहार राज्य पूर्वी चम्पारण रक्सौल निवासी हाल ठमेल बस्ने २६ वर्षीय आदित्य कुमार रहेका छन् । 

पीडित व्यक्तिहरूका निवेदनका आधारमा गरिएको प्राविधिक अनुसन्धानपछि प्रहरीले काठमाडौं महानगरपालिका–२६, छायाँ कम्प्लेक्स, भगवान बहाल, ठमेलबाट उनीहरूलाई पक्राउ गरेकाे हाे ।

प्रहरीले उनीहरूको साथबाट नेपाली र विदेशी नगद रकम, विभिन्न बैंकका एटिएम कार्डहरू, भारतीय सिम कार्डहरू, मोबाइल फोन तथा क्यासिनो कार्ड बरामद गरेको जनाएको छ। 

ब्यूरोका अनुसार पक्राउ परेका व्यक्तिमाथि विद्युतीय माध्यम सम्बन्धी ठगी मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतको आदेशअनुसार ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।