४४ करोडले बढ्यो राष्ट्रिय वाणिज्य बैंकको नाफा, ब्याज आम्दानीमा उछाल


काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा उल्लेख्यरुपमा वृद्धि भएको छ । आज प्रकाशित वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको तुलनामा चालू वर्षको सोही अवधिमा बैंकको नाफा ह्वात्तै बढेको हो ।

कम्पनीकाअनुसार यस अवधिमा बैंकले ५९ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन, गत आर्थिक वर्षको पहिलो ३ महिनाको अवधिमा १५ कराेड १३ लाख रुपैयाँमा सिमित थियो । यो गत वर्षको तुलनामा ४४ करोडले बढी हो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । गत वर्ष २ अर्ब १७ करोड रुपैयाँमा सिमित बैंकको खुद ब्याज आम्दानी बढेसँगै नाफामा समेत उल्लेख्य सुधार आएको हो ।

यस्तै, १ अर्ब ४२ करोड रुपैयाँ कर्मचारी खर्च गरेपछि बैंकले सञ्चालन मुनाफा ८५ करोड २४ लाख रुपैयाँ कायम भएको थियो भने कर तिर्नु अघिको आम्दानी ८५ करोड ५३ लाख रुपैयाँ थियो ।