काठमाडौं – हालैको जेनजी आन्दोलनको क्रममा प्रहरी कार्यालयबाट लुटिएको हतियारसहित एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार कार्तिक १३ गते साँझ, काठमाडौं महानगरपालिका–७, लाहुरे टोलस्थित (प्रविण घिमिरे, भरत विश्वकर्मा) ले सञ्चालन गर्दै आएको सोलुखुम्बु खाजा घर बाहिर राखिएको कालो झोलाभित्र ग्यास गन (क्रम नम्बर 972 WK 68301 032189 ) फेला परेको थियो।
सो झोलामा ग्यास गनको बट र नाल छुट्टाछुट्टै अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। गोप्य सूचनाका आधारमा उक्त झोला काभ्रेपलान्चोक जिल्लाको महाभारत गाउँपालिका–१ स्थायी घर भई काठमाडौं, गोकर्णेश्वर नगरपालिका–३ मा बस्दै आएका २२ वर्षीय राजा तामाङ –उर्फ वासु लामाले राखेको खुल्न आएको प्रहरीले जनाएको छ।
प्रहरीले १४ गते साँझ ५–१५ बजे गोकर्णेश्वर–३, माईती नेपाल नजिकबाट तामाङलाई पक्राउ गरेको हो। सोधपुछका क्रममा उनले उक्त ग्यास गन झोलासहित उक्त स्थानमा आफैँले राखेको स्वीकार गरेका छन् । उनको कोठामा गरिएको खानतलासीमा 9MM, 9X19, 9X19 MFS लेखिएका तीन थान गोली (काट्र्रिज) समेत बरामद भएको प्रहरीले जनाएको छ। बरामद हतियार र गोलीसहित तामाङलाई जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ।
प्रहरीका अनुसार तामाङ यसअघि पनि प्रहरी वृत्त, बौद्धमा दर्ता ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ परेका थिए। काठमाडौं जिल्ला अदालतको आदेशअनुसार उनलाई २०८२ साल साउन ७ गते सुन्धारा कारागारमा पुर्पक्षका लागि राखिएको थियो। तर, २०८२ साल भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागी फरार भएको खुलेको प्रहरीले जनाएको छ।प्रहरीले तामाङलाई पुनः पक्राउ गरी हातहतियार, खरखजाना तथा विस्फोटक पदार्थसम्बन्धी ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।





About Us
प्रतिक्रिया