काठमाडौं – एकपछि अर्को विकास बैंकहरू समस्यामा परेर नियामकबाट रेस्क्यु खोजिरहँदा मुक्तिनाथ विकास बैंकले भने आफूलाई वाणिज्य बैंकमा स्तरोन्नति गर्ने आकांक्षा देखाएको छ । कर्णाली विकास बैंक डुब्ने भएपछि नेपाल राष्ट्र बैंकले तत्काल व्यवस्थापन नियन्त्रणमा लिएर त्यसको रेस्क्यु प्रक्रिया अघि बढाइसकेको छ ।
सप्तकोशी डेभलपमेन्ट बैंकको नियामकीय पुँजीको थ्रेसहोल्ड नपुर्याएपछि केन्द्रीय बैंकले शीघ्र सुधारात्मक कारबाही नै अघि बढायो । तर, मुक्तिनाथ विकास बैंक भने क्षमता विकासका आधारमा स्तरोन्नति गर्नुपर्ने सोच लिएर अघि बढेको छ । वाणिज्य बैंकहरूको संख्या ३२ बाट घटेर २० मा झरिसकेको छ । नेपाल राष्ट्र बैंकले अनुमति दिएमा विकास बैंककारुपमा सञ्चालनमा रहेको मुक्तिनाथ विकास बैंक वाणिज्यमा स्तरोन्नति भएपछि वाणिज्य बैंकको संख्या बढेर २१ पुग्ने भएको छ ।
मुक्तिनाथ विकास बैंकको १९औँ वार्षिक साधारण सभाबाट वाणिज्य बैंक बन्ने प्रस्ताव पारित भएसँगै यस्ता बैंकको संख्या २१ पुग्ने बाटो खुलेको छ । यसका लागि सम्पन्न बैंकको वार्षिक साधारण सभाले १३.५३ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको छ । १३.५३ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित हुनु अघिसम्म बैंकको चुक्ता पुँजी ७ अर्ब ४ करोड रुपैयाँ थियो।
सो बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी बढेर ८ अर्ब नाघ्नेछ । जुन, वाणिज्य बैंकका लागि नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजीको सीमा हो । यसका लागि मंसिरको पहिलो साताभित्र नेपाल राष्ट्र बैंकमा वाणिज्य बैंकमा स्तरोन्नती हुनका लागि आवेदन दिने तयारीमा छ । बैंकले साधारण सभाको निर्णयअनुसार प्रबन्धपत्र र विनियमावली संशोधन गरेर आगामी सञ्चालक समितिको बैठकमा लैजानेछ । सञ्चालक समितिले पारित गर्न साथ मंसिरमा स्तरोन्नतीका लागि आवेदन दिने तयारी कम्पनीले अघि बढाएको छ ।
के भन्छन् पूर्व बैंकर ?
पूर्व बैंकर सुनिल केसी ‘ख’ वर्गको लाइसेन्स लिएर सञ्चालनमा रहेको विकास बैंक स्तरोन्नती हुने प्रक्रियामा रहनु स्वागतयोग्य भएको बताउँछन् । बैंकिङ्ग समाचारसँगको कुराकानीमा उनी भन्छन्, ‘देशका अधिकांश स्थानमा शाखा रहेको र विकास बैंकमध्येको अब्बल बैंक मुक्तिनाथ वाणिज्यमा ‘अपग्रेड’ हुनु स्वागतयोग्य हो ।’
तर, स्तरोन्नती हुनु मात्रै अन्तिम नभएको केसीको भनाइ छ । उनका अनुसार विगतमा स्तरोन्नती भएर वाणिज्य बैंक बनेका धेरै बैंकमध्ये सानिमा र एनएमबी बैंकको मात्रै वित्तीय सूचक उत्कृष्ट छ । यीबाहेक अन्य बैंकको वित्तीय सूचक उत्कृष्ट नहुँदा स्तरोन्नती हुँदैमा ‘पर्फमेन्श’ उत्कृष्ट हुँदैन ।
यस्तै, पूर्व बैंकर भूवन दाहाल वाणिज्य बैंककारुपमा स्तरोन्नती हुनका लागि साधारणसभाबाट पारित गरेर प्रक्रिया अघि बढाउनु राम्रो विषय भएको बताउँछन् । उनका अनुसार देशको वित्तीयदेखि आर्थिक अवस्था उत्कृष्ट नहुँदा समेत ‘ख’ वर्गमा रहेको विकास बैंक ‘क’मा बढुवा हुन्छु भन्नु स्वागतयोग्य विषय हो । ‘मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलसँग लामो समय वाणिज्य बैंकमा काम गरेको अनुभव समेत रहेकाले स्तरोन्नती भएमा समस्या आउँदैन,’ दाहालले भने ।
के भन्छ राष्ट्र बैंक ?
मुक्तिनाथ विकास बैंकले १९औं साधारण सभाबाट पारित गरेको स्तरोन्नतीको प्रस्तावअनुसार नेपाल राष्ट्र बैंकमा मंसिर पहिलो साता भित्र निवेदन लैजान तयारी थालेको छ । साधारण सभाबाट पारित विषय नेपाल राष्ट्र बैंकमा बुझाउनै पर्ने भएकाले निवदेन नै नपुगेपनि यो विषयमा केन्द्रीय बैंक जानकार हुन्छ नै । तर, बैंकले साधारण सभाबाट पारित गरेको प्रस्तावहरुको सूची पठाएपछि मात्रै यो तथ्य लागू हुनेछ ।
यसबाहेक, कम्पनी रजिष्टारको कार्यालयमा समेत कम्पनीको साधारण सभाको प्रस्ताव र पारित भएको विषय ३५ दिनभित्र बुझाउनुपर्ने व्यवस्था छ । यसआधारमा, साधारण सभाबाट पारित प्रस्तावको औपचारिक चिठ्ठि नगएपनि भएका निर्णयका आधारमा केन्द्रीय बैंक र कम्पनी रजिष्टारको कार्यालय अवगत नै हुन्छन् । तर, केन्द्रीय बैंकमा स्तरोन्नतीका लागि निवेदन दिएको खण्डमा सञ्चालक समितिको बैठकमा जानेछ ।
र, सञ्चालक समितिको बैठकले मुक्तिनाथ विकास बैंकलाई वाणिज्यमा स्तरोन्नती गर्ने वा नगर्ने निर्णय गर्नेछ । तर, यो विषय वाणिज्य बैंकको लाइसेन्स खुला गरेर प्रक्रिया अघि बढाएकोभन्दा फरक हुनेछ । किनकि, ऐनमा नै स्पष्टरुपमा कुनैपनि ‘ग’ र ‘ख’ वर्गका बैंकले तोकिएको मापदण्ड पुरा गरेमा स्तरोन्नती हुन पाउने व्यवस्था गरिएको छ ।
के छ स्तरोन्नतिको प्रक्रिया ?
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम तल्लो वर्गको इजाजतपत्र संस्थाले माथिल्लो वर्गमा स्तरोन्नती हुनका लागि नेपाल राष्ट्र बैंकमा आवेदन दिनुपर्छ । नेपाल राष्ट्र बैंकले जनाएअनुसार ‘ख’ र ‘ग’ वर्गका संस्थाहरू क्रमस ‘क’ र ‘ख’ वर्गमा स्तरोन्नति हुन पाउँछन् । तर, यसरी स्तरोन्नती हुनका लागि तोकिएका मापदण्डहरू पुरा गर्नुपर्ने हुन्छ ।
जसमध्ये, स्तरोन्नती हुन चाहने संस्थाले सम्बन्धित वर्गको वित्तीय कारोबार गर्न इजाजतपत्रप्राप्त गरेको अवधि ५ वर्ष पुरा गर्नुपर्ने व्यवस्था छ । यसबाहेक, कारोबार गर्न इजाजतपत्र प्राप्त गरेको अवधि बराबरकै अवधि अर्थात् पछिल्लो ५ वर्षसम्म निरन्तर नाफा आर्जन गरेको हुनुपर्छ भने संस्था सञ्चित नोक्सानीमा समेत भएको हुन हुनेछैन ।
पछिल्लो ५ वर्षको औषत कूल निष्क्रिय कर्जा अनुपात ५ प्रतिशतभन्दा न्यून, स्तरोन्नती हुनका लागि तोकिएको न्यूनतम चुक्ता पूँजी पुरा भएको समेत हुनुपर्छ । यसको अर्थ मुक्तिनाथ विकास बैंकले वाणिज्य बैंकमा स्तरोन्नती हुनका लागि कम्तिमा ८ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउनुपर्छ ।
यसबाहेक, तोकिए बमोजिमको पुँजी पर्याप्तता, प्रति ग्राहक कर्जा सीमा, कर्जा निक्षेप अनुपात, कर्जा नोक्सानी व्यवस्था र वित्तीय स्रोत परिचालन सम्बन्धी निर्देशनहरू पूर्ण रुपमा पालना गरेको तथा विगत पाँच वर्षदेखि लगातार यस बैंकले तोकेको न्यूनतम पुँजी पर्याप्तता अनुपात कायम गरेको हुनुपर्ने व्यवस्था छ । संस्था वा सञ्चालक समिति/पदाधिकारीलाई सुशासनका निर्देशन पालना नगरेर कारबाहीमा परेर फुकुवा भएको ३ वर्ष पुरा भइसकेको समेत हुनुपर्नेछ ।
राष्ट्रियस्तरको कार्यक्षेत्र भएको ‘ख’ वर्गबाट ‘क’ वर्गमा स्तरोन्नति हुन चाहने संस्थाको अघिल्लो आर्थिक वर्षमा व्यवसायको आकार (निक्षेप तथा कर्जाको कुल योग) न्यूनतम चुक्ता पुँजीको १५ गुणा (हालको वर्गको) र ग्राहक संख्या २५ हजार (निक्षेपकर्ता र ऋणी) भएको हुनुपर्ने व्यवस्था समेत छ ।
यी सबै कानूनी मापदण्ड पुरा गरेपछि तोकेको न्यूनतम चुक्ता पुँजी पुगेको व्यहोरा यस बैंकको सूचीकृत लेखापरीक्षकबाट प्रमाणित विवरण, स्तरोन्नति हुने सम्बन्धमा सम्बन्धित संस्थाको वार्षिक साधारण सभाले गरेको निर्णयको छविचित्र र आगामी ५ वर्षको व्यवसायीक योजनासहित स्तरोन्नतीका लागि निवेदन पेश गर्न सक्नेछन् । जसका लागि दुई प्रतिशत वा सोभन्दा बढी सेयर धारण गरेका संस्थापकहरूको व्यक्तिगत विवरण, संस्थापकहरूले सम्बन्धित संस्थाबाट कर्जा नलिएको स्वःघोषणा पत्र, संस्थापकहरूले अन्य बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण लिई भाखा ननाघेको वा कर्जा सूचना केन्द्र लगायत कागजात समेत आवश्यक पर्छ ।





About Us
प्रतिक्रिया