एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग व्यापार सम्झौता सफल भएको जानकारी दिएका छन् । आज दक्षिण कोरियाको बुसन सहरमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको भेटवार्ताका क्रममा कुरा मिलेपछि व्यापार सम्झौता भएको घोषणा गरेका हुन् ।
अमेरिका र चीनबीच लामो समयदेखि व्यापार युद्ध चल्दै आइरहेको थियो । विश्वका दुई ठुला अर्थतन्त्र भएका देशहरू आपसी भिडन्तमा रहँदा विश्वको अर्थतन्त्र संकट सामना गर्नुपर्ने सङ्घारमा थियो । तर, एक वर्ष हाराहारीको व्यापार युद्ध र संघर्षपछि अन्ततः व्यापार सम्झौता भएको हो ।
एसिया प्यासिफक इकोनोमिक कर्पोरेन (एपेक) समिटका क्रममा बुसनमा भएको साइडलाइन वार्तापछि चीनसँग आगामी १ वर्षका लागि १७ प्रकारका रेअर अर्थ आपूर्ति सम्झौता भएको ट्रम्पले जानकारी दिएका हुन् । समाचार संस्था सीएनबीसीका अनुसार अमेरिका र चीनबीच एक वर्षको सम्झौता भएको छ । जसमा चीनले रेअर अर्थको निर्यातमा बाधा निकाल्ने छैन ।
अमेरिकाले चीनमाथि अप्रत्यासित कर लगाएपछि चीनले १७ प्रकारका खनिज धातुको निर्यातमा अड्चन खडा गरेको थियो । जसकारण, अमेरिकामा युद्धपोत, लडाकु विमान, विद्युतीय कारसहित विभिन्न विद्युतीय सामाग्रीको उत्पादन तथा एआई चिप बनाउन आवश्यक पर्ने कच्चा पदार्थको आपूर्ति शृङ्खला बिग्रेको थियो । जसकारण, ट्रम्प चिन्तित थिए ।
चीनले आगामी १ वर्षका लागि रेअर अर्थ निर्यात सहजीकरण गर्ने भएपछि अमेरिकाले चिनियाँ सामाग्रीमा लगाएको कर समेत घटेको छ । यससँगै अमेरिकाले चिनियाँ सामाग्रीमा २० प्रतिशत लाग्दै आएको आयात कर घटाएर १० प्रतिशतमा झार्ने छ । यसबाट अहिले लाग्दै आएको ५७ प्रतिशत कर घटेर ४७ प्रतिशतमा आइपुग्नेछ । दुई ठुला अर्थतन्त्र भएका देशबीच व्यापार युद्ध रोकिएपछि विश्व अर्थतन्त्र चलायमान बन्ने बताइएको छ । यसबाट पेट्रोलियम पदार्थसँगै सुनको मूल्य समेत घट्ने अपेक्षा गरिएको छ ।





About Us
प्रतिक्रिया