काठमाडौं – नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकको नियम अटेरी गर्ने दुई विकास बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकको नियम उल्लंघन गर्ने दुई विकास बैंकलाई वित्तीय संस्था सुपरिवेक्षण विभागले कारबाही गरेको हो । राष्ट्र बैंकको कारबाहीमा पर्नेहरुमा सप्तकोशी डेभलपमेन्ट बैंक र लुम्बिनी विकास बैंक रहेका छन् ।
राष्ट्र बैंकले लुम्बिनी विकास बैंकको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतलाई दोस्रो कार्यकालको लागि पुनर्नियुक्ति गर्दाको मितिमा उल्लेख गरिएको सेवा सुविधा छोटो समय मै वृद्धि गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा भएको व्यवस्था उल्लङ्घन गरेपछि संस्थाको तत्कालीन संचालक समितिलाई नेपाल राष्ट्र बैंकले सचेत गराएको हो ।
यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकले कर्जा नोक्सानी व्यवस्था समायोजन गर्दा २०८१ असार मसान्तमा संस्थाको पुँजीकोष अनुपात राष्ट्र बैंकले तोकेको १० प्रतिशतको न्यूनतम पुँजीकोष अनुपातमा ४२.७ प्रतिशतले नपुग रहेको तथा २०८२ असार मसान्तको पछिल्लो वित्तीय विवरण अनुसार न्यूनतम पुँजीकोष अनुपात ७.५१ प्रतिशत रहेको जुन राष्ट्र बैंकले तोकेको न्युतम पुँजीकोष अनुपातमा २४.९ प्रतिशतले न्यून रहको हुँदा शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४ को व्यवस्था बमोजिम शीघ्र सुधारात्मक कारबाही गरेको हो ।
यस्तै, बैंकले प्रवाह गरेको चालु पुँजी प्रकृतिका कर्जाहरु आवश्यक कागजात नलिई संस्थाको कोर बैंकिङ्ग प्रणालीमा समयावधि थप गरेको, कर्जा नोक्सानी व्यवस्थासम्बन्धी विवरण यथार्थपरक नभएको तथा यस बैंकमा गरेको रिपोर्टिङ्ग विस्वसनीय नभएको र राष्ट्र बैंकबाट दिएका निर्देशनहरु पालना नगरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेललाई नसिहत दिइको छ ।
राष्ट्र बैंकले गरेको स्थलगत निरीक्षणका क्रममा पाइएका कैफियतहरु सुधार गर्ने जिम्मेवारी संस्थाको संचालक समितिमा रहने हुँदा प्रतिवेदनमा उल्लेखित कैफियत/गल्ती तथा अवस्था पुन दोहोरिन नदिन र प्रमुख कार्यकारी अधिकृतबाट भएको कैफियतहरु सुधारको लागि जिम्मेवार रहन संस्थाको संचालक समितिलाई लिखित आदेश जारी गरेको छ ।






About Us
प्रतिक्रिया