यस्तो छ प्रभु बैंकका पूर्व अध्यक्ष भट्टचनले रेमिट्यान्सको रकममा गरेको घोटालाको नालीबेली…


काठमाडौं – एक वर्ष अघि नै उजुरी परेका प्रभु मनि ट्रान्सफर प्रालिका अध्यक्ष तथा प्रभु ग्रुपका सञ्चालक देवी प्रकाश भट्टचन पक्राउ परेका छन् । लामो समयबाट नै विभिन्न सहकारीको रकम अपचलनको आरोप लाग्दै आएका भट्टचन प्रभु बैंकका पूर्व अध्यक्ष समेत हुन्।

नेकपा एमालेका प्रतिनिधि सभा सदस्य समेत रहेका भट्टचनलाई ‘रेमिट्यान्स’को रकम देखाउँदै सहकारीमा गरेको ठगी मुख्य कसुरकारुपमा छ । यसबाहेक, उनले आपराधिक विश्वासघात, आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरमा संलग्न भएको आरोपमा केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

सीआईबीका प्रवक्ता शिव कुमार श्रेष्ठका अनुसार २०७९ मा आदिवासी जनजाति समुदायबाट समानुपातिक प्रतिनिधि बनेका भट्टचनविरुद्ध ३ दर्जनभन्दा बढी सहकारीले गरेको उजुरी परेको छ । विगत लामो समयदेखि यी उजुरी प्रहरीमा थुप्रिएर बसेका थिए । तर, पैसा र शक्तिको आडमा प्रहरीबाट जोगिएका भट्टचन अन्ततः फन्दामा परेका छन् ।

यस्तो व्यवसायीक धोखाधडीको शृङ्खला

प्रभु ग्रुपका सञ्चालक भट्टचनले विसं २०४७ सालदेखि प्रभु ट्राभल्स सञ्चालनमा ल्याएका थिए । सोही ट्राभल्स हुँदै उनले २०५८ सालमा प्रभु मनी ट्रान्सफरको अनुमति लिए । जनआन्दोलनपछि बिदेसिने युवा बढेसँगै रेमिट्यान्स व्यवसायमा भट्टचनको सुखद दिन सुरु भएको थियो । त्यसै बीचमा उनले प्रभु क्यापिटल नामक कम्पनी खोले । साथै, २०६६ सालमा सबै व्यवसायलाई एउटै छातामा राख्ने गरी प्रभु ग्रुप बनाए ।

त्यसपछि उनले २०६९ मंसिर १५ गते ३ जना व्यावसायिक साझेदारहरू अघि सारेर लैनचौरमा प्रभु म्यानेजमेन्ट कम्पनी खोले । प्रभु ग्रुप अन्तर्गतको सो कम्पनी पछि गैरीधारामा सर्यो । सो कम्पनीमा भट्टचनले ५० लाख रुपैयाँ बराबरको ५० हजार कित्ता, म्याग्दीका दीलिप थकालीले २० हजार कित्ता, काठमाडौंकी कुसुम लामाले २० हजार कित्ता र बागलुङका दक्ष पौडेल ‘शुभाष’ ले १० हजार कित्ता शेयर लिए ।

यीनै कम्पनी स्थापना र विस्तारमा गरेका धोखाधडीका कारण यतिबेला भट्टचन प्रहरीको फन्दामा परेका छन् । खासगरी, उनले प्रभु मनि ट्रान्सर २०५८ सालमा स्थापना गरेर ‘रेमिट्यान्स’ भित्र्याउन थाले । तर, यो कम्पनी एक्लैले रेमिट्यान्स भित्र्याउनेदेखि वितरण गर्न सहज भएन । यसपछि २०६९ सालमा उनले सुरुमा प्रभु बैंक अन्तर्गत नै रहेकी कुसुम लामालाई साथमा लिएर प्रभु म्यानेजमेन्ट सुरु गरे ।

यो कम्पनीको मुख्य काम भनेको प्रभु मनि ट्रान्सफरले भित्र्याएको रेमिट्यान्स सम्बन्धीत व्यक्तीसम्म वितरण गर्नु थियो । यसका लागि भट्टचनले कुसुमलाई साथमा लिएर प्रभु म्यानेजमेन्टसँग सम्झौता गरे । सोही सम्झौता देखाउँदै म्यानेजमेन्टले देशका विभिन्न सहकारीसँग सम्झौता गर्यो । र, सहकारीले देशभरका सम्बन्धीत व्यक्तीलाई रकम वितरण गर्यो ।

तर, यहीक्रममा भट्टचनको धोखाधडी सुरु हुन्छ । उनको प्रभु मनि ट्रान्सफरले रकम भुक्तानी नै गरेनन् । प्रभु म्यानेजमेन्टले समेत रकम नपाएपनि हिसाबकिताबअनुसार सहकारीलाई उधारोमा नै रेमिट्यान्सको पैसा वितरण गर्न लगायो । तर, समय बित्दै जाँदा प्रभु म्यानेजमेन्टसँग उधारोमा काम गरेका सहकारीले रकम भुक्तानी माग्न थाले र कानूनी प्रक्रिया अघि बढाउन थाले।

तर, प्रभु म्यानेजमेन्टले समेत प्रभु मनि ट्रान्सफरबाट रकम नपाएपछि कुसुमले भट्टचनलाई दबाब दिन थालिन् । तर, पनि भुक्तानी नभएपछि कुसुम र भट्टचनबीच व्यवसायीक फाटो आउन थाल्यो र कानूनी प्रक्रिया अघि बढ्यो । जसले आज भट्टचनलाई कानूनको फन्दामा पारेको छ ।

कसरी परे पक्राउ ?

त्यसपछि व्यवसायले नेपालको बैंकिङ्ग र वित्त क्षेत्रमा बलियो आधार स्थापित गरेका भट्टचन ,ठाकुर प्रसाद मानन्धरलगायतको जाहेरीका आधारमा वादी नेपाल सरकार र प्रतिवादी कुसुम लामा लगायतको नाममा दायर मुद्दामा संकलित प्रमाणका आधारमा पक्राउ परेका हुन्। उनीविरुद्ध एक वर्ष अघि नै प्रभु म्यानेजमेन्टकी अध्यक्ष लामाले समेत जाहेरी दिएकी थिइन् ।

तर, उनले दायर गरेकाे उजुरी प्रहरी लिन मानेको थिएन । जसले गर्दा सरकारी वकिलको कार्यालयले नै उनीविरुद्धको जाहेरी लिन निर्देशन दिएका थियो । एक वर्ष अघि नै प्रहरीसम्म पुगेको जाहेरीमा छानबिन पनि भएको थिएन । उनी ‘हाइप्रोफाइल’ हुनुका साथै एमालेका नेताहरुको छत्रछायामा रहेकाले गर्दा सुरुमा प्रहरीले उजुरी लिएको थिएन ।

‘प्रभु मनि ट्रान्सफर’ भर्सेस ‘प्रभु म्यानेजमेन्ट’

प्रभु म्यानेजमेन्ट प्रभु समूह मुख्य कम्पनी प्रभु मनि ट्रान्सफरको ‘सुपर एजेन्ट’कारुपमा स्थापित कम्पनी हो । जसले जिल्ला–जिल्लामा सहकारीहरूलाई एजेन्ट बनाएर रेमिट्यान्स भुक्तानीको काम गर्दै आइरहेको थियो । यसका लागि उसले सहकारीहरूबाट धरौटी रकमसमेत उठाएको थियो । सोही क्रममा सहकारीहरूबाट उठाएको धरौटी रकम नै अपचलन गर्ने तथा सहकारीले विश्वास गरेर उधारो नै गरेको रकम भुक्तानीको रकम समेत अपचलन भयो ।

पहिले प्रभु म्यानेजमेन्ट कम्पनीको अध्यक्ष भट्टचन नै थिए । तर, पछि कुसुम लामा अध्यक्ष बनिन् । लामा अध्यक्ष बनेपछि भट्टचनले आफ्नो र परिवारका सदस्यहरूको नाममा रहेको शेयर अन्यको नाममा सारेर कम्पनीबाट बाहिरिए । भट्टचन बाहिरिए पनि उनको कार्यकालको हिसाबकिताब र दायित्व फरफारक नभएको भन्दै अध्यक्ष लामाले सार्वजनिक सूचना निकाल्नेदेखि प्रहरीमा उजुरी दिनेसम्मको काम गरिन् ।

त्यसपछि आफ्नो ज्यानको सुरक्षा नभएको भन्दै उनी लामो समय मलेसिया समेत गएर बसिन् । जबकि, यतिबेला भने अदालतमा दिएको जाहेरीमा स्वंम उपस्थित हुन परेपछि लामा नेपाल फर्किएको स्रोत बताउँछ । प्रभु म्यानेजमेन्ट प्रालिलाई सुपर एजेण्टको रूपमा नियुक्त गरी देशभरका विभिन्न सहकारी संस्थामार्फत रेमिट कारोबार सञ्चालन गरिएको थियो ।

हालसम्मको अनुसन्धानमा खुलासा भएअनुसार, उक्त कारोबारमा प्रभु म्यानेजमेन्ट प्रालिका तर्फबाट तत्कालीन प्रबन्ध निर्देशक कुसुम लामा र मुख्य सञ्चालक भट्टचनले रेमिट रकमको हिनामिना गरेका थिए । साथै, उनका परिवार र नजिकका व्यक्तिहरूको मिलेमतोमा उनले रकम अपचलन गर्न सुरु गरेका थिए । सहकारी संस्थाहरूले विप्रेषण रकम लाभग्राहीलाई भुक्तानी गरे पनि प्रभु म्यानेजमेन्ट प्रालिबाट सो रकम सहकारीहरूलाई सोध भर्ना नगरिएको पाइएको छ । यहीकारण, नेपाल राष्ट्र बैंकको विप्रेषण विनियमावली, २०७९ को बुँदा न.९ अनुसार कम्पनीले आफैं वा आफ्ना अधिकृत सब–एजेण्टमार्फत मात्र लाभग्राहीलाई भुक्तानी गर्नुपर्ने कानुनी व्यवस्था उल्लङ्घन गरी अनधिकृत रूपमा कारोबार गरिएको पनि प्रहरीले बताएको छ ।

३ दर्जन बढी सहकारीको करोडौँ घोटाला

रेमिट्यान्स भुक्तानीको रकम फिर्ता नगरेको आरोपमा भट्टचनविरुद्ध यस अघि गोरखाका १६ सहकारी संस्था संगठित भएका थिए । गोरखा जिल्लामा मात्रै नभएर भक्तपुर, ललितपुर, चितवन, कास्की लगायतका जिल्लामा पनि प्रभु म्यानेजमेन्टले सहकारीहरूलाई एजेन्ट बनाएर धरौटी रकम उठाएको र रकम फिर्ता नगरेको उजुरी प्रहरीमा परेको थियो ।

साथै, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले गत जेठमा ५२ लाख रुपैयाँभन्दा बढी रकम नदिएको भन्दै ध्यानाकर्षण पत्र बुझाएको थियो । रेमिट्यान्स सेवा पनि बन्द गर्ने र रकम पनि भुक्तानी नगरेपछि सहकारी संस्थाहरू रकम भुक्तानी गरिदिन आग्रह गर्दै विभिन्न निकाय धाइरहेका छन् ।