बैंकिङ्ग प्रणालीमा तरलता थुप्रिने क्रम रोकिएन, ४० अर्ब खिच्दै राष्ट्र बैंक


काठमाडौं – यतिबेला बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा लगानी बढ्न नसक्दा बैंकिङ्ग प्रणालीमा तरलता थुप्रिने क्रम रोकिएको छैन । बैंकिङ्ग प्रणालीमा तरलता थुप्रिने क्रम नरोकिँदा केन्द्रीय बैंकले तरलता प्रशोचन गर्दै आइरहेको छ । यसैक्रममा आजपनि केन्द्रीय बैंकले ४० अर्ब संकलन गर्न लागेको हो ।

केन्द्रीय बैंकले १७५ दिनको लागि ४० अर्ब निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएको हो । यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी २०८३ वैशाख ९ गते हुनेछ । यसमा बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

केन्द्रीय बैंकले निक्षेप संकलनको लागि आह्वान गरिएकोरकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गर्नेछ ।