२७ बैंकको औसत नाफा २ अर्ब, कुन बैंकले कति कमाए ? 

२७ बैंकको औसत नाफा २ अर्ब, कुन बैंकले कति कमाए ? 


बैकिङ्ग समाचार . 

गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूले औसतमा २ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन्। बैंकहरूले प्रकाशित गरेको गत आर्थिक वर्षको चाथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार अधिकांश बैंकहरूको नाफा घटेको छ।

केन्द्रीय बैंकले चौथो त्रैमासको ब्याज गणना गर्दा २ प्रतिशत विन्दुले घटाएर गणना गर्न निर्देशन दिएको थियो भने समयमा किस्ता तिर्नेलाई १० प्रतिशत छुट समेत बैंकहरूले दिनुपर्ने व्यवस्था थियो। यसले गर्दा बैंकहरूको आम्दानीमा असर पारेको हो। बैंक तथा वित्तीय संस्थाहरूको मुख्य आम्दानीको स्रोत ब्याज हो। ब्याज आम्दानी घट्दा खुद नाफामा प्रत्यक्ष प्रभाव परेको छ।

त्यस्तै, अधिकांश बैंकहरूको खराब कर्जा बढेको छ। यसले गर्दा पनि नाफा प्रभावित भएको छ। बैंकहरूको निक्षेप संकलन बढ्दै जाँदा कर्जा लगानी बढ्न सकेको छैन। यसले गर्दा लागत बढेको छ।

नाफा घट्नुको मुख्य कारण कोरोना भाइरस भएपनि केन्द्रीय बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमा नै लिएका कतिपय व्यवस्थाले पनि बैंकहरूको नाफा घटेको छ। अघिल्लो वर्षसम्म उच्च स्प्रेडदर राखेर नाफा कमाउँदै आएका बैंकहरूलाई स्प्रेड दर ४.४ प्रतिशतमा झार्न परेपछि आम्दानी केही खुम्चेको छ।

तर पनि केहि बैंकहरूले कर्जा लगानी बढाउँदा नाफा बढेको छ। गत वर्षको तुलनामा बैंकहरूको औषत नाफा भने बढेको छ। गत वर्षको चौथो त्रैमासमा २८ वटा वाणिज्य बैंकले ४७ अर्ब ५३ करोड रुपैयाँ नाफा कमाएका थिए। जुन औषतमा १ अर्ब ९० करोड रुपैयाँ हो। 

गत आर्थिक वर्षमा २७ वटा वाणिज्य बैंकहरूले कुल ५३ अर्ब ९९ करोड रुपैयाँ नाफा कमाएका छन्। यो औषतमा २ अर्ब हो। 

चौथो त्रैमासमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको नाफा सबैभन्दा धेरै छ। उक्त बैंकले ४ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। नाफा मात्रै हैन यो वाणिज्य बैंक निक्षेप, खुद ब्याज आम्दानी, प्रतिशेयर आम्दानी जस्ता सूचकमा पनि सबैभन्दा अगाडि रहेको छ। तर, बैंकको खराब कर्जा भने वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै छ।

त्यसैगरी, सिभिल बैंकले सबैभन्दा थोरै ४५ करोड रुपैयाँ मात्र नाफा कमाएको छ। बैंक खुद नाफा, खुद ब्याज आम्दानी, सञ्चालन आम्दानी, निक्षेप, कर्जा, रिजर्भ, प्रतिशेयर आम्दानी लगायतको सूचकमा बैंक सबैभन्दा पछाडि देखिएको हो।

नबिल बैंक खुद नाफा बढी कमाउने बैंकको देस्रो स्थानमा रहेको छ भने कृषि विकास बैंक तेस्रो, एनआइसी एशिया बैंक चौथो र ग्लोबल आइएमई बैंक पाँचौ स्थानमा रहेको छ। चौथो त्रैमासमा १२ वटा बैंकले २ अर्ब रुपैयाँभन्दा धेरै नाफा कमाएका छन भने बाँकी बैंकको नाफा २ अर्ब रुपैयाँभन्दा कम छ।

चौथो त्रैमासको वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानीमा राष्ट्रिय वाणिज्य बैंक अगाडि देखिएको छ भने सञ्चालन नाफामा एनआइसी एशिया बैंक अगाडि देखिएको छ। यी दुबै सूचकमा सिभिल बैंक सबैभन्दा पछाडि छ।

असार मसान्तसम्ममा बैंकहरूले १ खर्ब २८ अर्ब ७५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन्। जुन औषतमा ४ अर्ब ७६ करोड रुपैयाँ रहेको छ। त्यस्तै कुल १ खर्ब ६५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेका छन्। जुन औसतमा ६ अर्ब १३ करोड रुपैयाँ हो।

वाणिज्य बैंकहरूमध्ये कर्जा लगानीमा ग्लोबल आइएमई बैंक सबैभन्दा अगाडि देखिएको छ। जनता बैंकलाई आफुमा गाभेको ग्लोबल आइएमई बैंकले चौथो त्रैमाससम्ममा १ खर्ब ८९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ जुन वाणिज्य बैंकहरूमध्यकै उच्च हो।

त्यसैगरी, निक्षेप संकलनमा भने राष्ट्रिय वाणिज्य बैंक नै अगाडि छ। बैंकले कुल २ खर्ब ३० अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

वाणिज्य बैंकहरूको चुक्ता पूँजी २ खर्ब ८० अर्ब पुग्यो, औषतमा १० अर्ब

वाणिज्य बैंकहरूको चुक्ता पूँजी कुल २ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ। यो औषतमा १० अर्ब ३८ करोड रुपैयाँ हो। 

केन्द्रीय बैंकले वाणिज्य बैंकहरूको न्यूनतम चुक्ता पूँजी ८ अर्ब हुनुपर्ने व्यवस्था गरेको छ। दुई बैंकको चुक्ता पूँजी ८ अर्बकै हाराहारीमा छ भने अन्यको ९ अर्बभन्दा बढी छ।

जनता बैंकलाई आफुमा गाभेको ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी सबैभन्दा धेरै १८ अर्ब ९७ करोड रुपैयाँ छ भने जगेडा नेपाल बैंकको सबैभन्दा धेरै १८ अर्ब ८९ करोड रुपैयाँ छ।