काठमाडौं – नेपाल राष्ट्र बैंकले सर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गर्न आग्रह गरेको छ । केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो बताएको हो ।
क्रेडिट कार्ड अनुमतिपत्रप्राप्त क तथा राष्ट्रियस्तरका ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले जारी गर्ने विद्युतीय भुक्तानी उपकरण हो । यसको प्रयोग गरी वस्तु तथा सेवाबापतको रकम भुक्तानी गर्न र तोकिएको सीमासम्म नगद निकाल्न समेत सकिन्छ ।
सही रूपमा प्रयोग गर्न सकेमा यो सुविधाजनक र सुरक्षित भुक्तानीको उपकरण हो । तर, लापरबाही गर्दा यसले उच्च ब्याज र आर्थिक बोझसमेत निम्त्याउन सक्ने केन्द्रीय बैंकले बताएको छ । राष्ट्र बैंकले क्रेडिट कार्डको बिल तोकिएको समयभित्र तिर्दा ब्याज र अतिरिक्त शुल्क लाग्दैन तर, तोकिएको समयभित्र नतिरेमा उच्च दरमा ब्याज र हर्जाना लाग्न सक्ने बताएको छ ।
क्रेडिट कार्डको प्रयोग गर्नुअघि क्रेडिट सीमा, शुल्क तथा ब्याजदर, बिल तयार हुने मिति र भुक्तानी गर्नुपर्ने समयसीमा, समयमा भुक्तानी नगरेमा लाग्ने अतिरिक्त शुल्क र ब्याजबारे जानकारी लिनुपर्ने केन्द्रीय बैंकले बताएको छ । राष्ट्र बैंकले सर्त बुझेर जिम्मेवारीपूर्वक प्रयोग गरी क्रेडिट कार्ड सजग ग्राहकको पहिचान रहेको बताएको छ ।





About Us
प्रतिक्रिया