बैंकिङ्ग निक्षेप ११ अर्बले बढ्दा कर्जा प्रवाह १० अर्ब


काठमाडौं – बैंकिङ्ग प्रणालीमा एकैदिन ११ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार असोज ३० गते बैंक तथा वित्तीय संस्थाहरुमा सो बराबरको निक्षेप थपिएको हो ।

सो दिन बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकैदिन ११ अर्बले बढेर ७४ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो दिन अर्थात् असोज २९ गते बिहीबारसम्म बैंक तथा वित्तीय संस्थामा ७४ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । बैंकका अनुसार उक्त दिन वाणिज्य बैंकहरुमा पनि ११ अर्ब रुपैयाँनै निक्षेप थपिएको छ भने अन्य वित्तीय क्षेत्रमा ७ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।

अघिल्लो दिनसम्म ६७ खर्ब १ अर्ब रुपैयाँ निक्षेप रहेको वाणिज्य बैंकमा निक्षेप बढेर ६७ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ । सो अवधिमा बैंकिङ्ग प्रणालीमा ११ अर्ब निक्षेप थपिँदा ६१० अर्ब रुपैयाँ कर्जा लगानी भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले यस अवधिमा ५६ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। जसमध्ये वाणिज्य बैंकहरुको कर्जा लगानी ५० खर्ब १९ अर्ब रुपैयाँ रहेको छ भने अन्य वित्तीय क्षेत्रले ६ खर्ब २४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । समिक्षा अवधिमा अन्तर बैंक कारोबारको ब्याजदर २.७५ प्रतिशत रहेको छ भने सिडी रेसियो ७४.७० प्रतिशतको बिन्दुमा झरेको छ ।