काठमाडौं – प्रवासी नेपालीबीच आपसी सहयोग, एकता र समुदायप्रतिको दायित्वलाई बलियो बनाउने उद्देश्यले धरान हेल्पिङ ह्यान्ड्स, युएईले दोस्रो संस्करणको फुटबल प्रतियोगिता आयोजना गर्न लागेको छ । पहिलो संस्करण गत वर्ष नै सम्पन्न गरिसकेको हेल्पिङ ह्याण्ड्सले दोस्रो संस्करणको ‘धरान हेल्पिङ ह्यान्ड्स कप फुटबल प्रतियोगिता, २०२५’ आयोजना गर्न लागेको हो ।
यो प्रतियोगिताको मूख्य उद्देश्य संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीहरुलाई आपसमा जोड्नु रहेको आयोजकको भनाई छ । आयोजक हेल्पिङ ह्याण्डसले खेल केवल प्रतिस्पर्धा मात्रै नभएर प्रवासमा रहेका नेपालीहरूको दुःख–सुख बाँड्दै नेपाली परिचयलाई उजागर गर्ने अभियानको रूपमा अघि बढाइएको जनाएको छ ।
प्रतियोगिता नोभेम्बर २२, २०२५ मा दुबईको अल क्वोजस्थित डुल्स्को भिलेज मैदानमा रातभर चल्ने छ । र, यो प्रतियोगिताबाट संकलित सहयोग भविष्यमा आर्थिक अभावमा परेका नेपालीहरू, आकस्मिक दुर्घटनाका पीडित तथा अस्पतालमा उपचाररत नेपालीहरूको सहायता कार्यमा खर्च गरिने समेत आयोजकले जनाएको छ ।
संस्थाका अध्यक्ष तथा प्रतियोगिताका संयोजक इश्वर श्रेष्ठले प्रतियोगिताको उपाधी विजेताले ८ हजार दिराम पाउने जानकारी दिए। उनले बैंकिङ्ग समाचारलाई दिएको जानकारीअनुसार दोस्रो हुने टोलीले ४ हजार दिराम पाउनेछन् । यस्तै, सर्वोत्कृष्ट खेलाडीले ३०० दिराम र उत्कृष्ट डिफेन्डरले २०० दिराम पाउनेछन् ।
यसबाहेक, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट किपरले समान २००/२०० दिराम पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा १६ देखि १८ वटा टिमको सहभागिता रहनेछ । खेलसँगै प्रतियोगितास्थलमा नेपाली परिकार, सांस्कृतिक प्रस्तुति र सहयोग संकलन स्टल समेत सञ्चालनमा रहने बताइएको छ ।
धरान हेल्पिङ ह्यान्ड्सले २००८ देखि प्रवासी नेपालीका लागि शिक्षा, स्वास्थ्य सहायता, निधन भएका व्यक्तिहरूको शव नेपाल पठाउने कामदेखि लिएर आपतकालीन सहयोगसम्मका गतिविधि गर्दै आएको छ । यहीक्रमलाई बढवा दिने लक्ष्यसहित यसपटक फुटबल प्रतियोगितालाई ‘मन जोड्ने मैदान, सहयोगको अभियान’ रुपमा अघि सारिएको जनाएको छ ।



About Us
प्रतिक्रिया