प्रधानमन्त्रीबाट मन्त्री बन्न सिफारिस पाएका खगेन्द्र सुनारविरुद्ध तीन वटा अदालतमा मुद्दा


काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री बनाउन सिफारिस गरेकी खगेन्द्र सुनारविरुद्ध तीन वटा अदालतमा मुद्दा चलिरहेको तथ्य खुल्न आएको छ । सुनारविरुद्ध  सर्वोच्च अदालतसहित सुर्खेतमा र  काभ्रे जिल्ला अदालतमा विभिन्न अभियोगमा मुद्दा चलिरहेको तथ्य फेला परेको हो। उनीविरुद्ध विद्युतीय कारोबार सम्बन्धी मुद्दामा समेत काभ्रे जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । 

त्यस्तै, उनीविरूद्ध सुर्खेत जिल्ला अदालतमा  मेहेलकुना अस्पतालका प्रमुख डा.सोजन सापकोटामाथि हातपात र स्वास्थ्य संस्था तोडफोडको मुद्दा छ। सो मुद्दामा २०८१ असार १४ र साउन २७ गते क्रमशः सात दिने र ३५ दिने पक्राउ पुर्जी जारी गरिएको थियो। तर उक्त मुद्दा अझै किनारा लागि सकेको छैन । 

त्यस्तै, काभ्रे जिल्ला अदालतमा भने अधिवक्ता मनीषा गौतमले फेसबुकमार्फत गालीगलौज र मानहानि गरेको भन्दै सुनारविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दायर गरेकी थिन् । अदालतले उनीमाथि पक्राउ पुर्जी जारी नगरेपनि घटनाको विवरणका लागि उपस्थित हुन निर्देशन दिएको थियो। तर, उनी अहिलेसम्म अदालतमा उपस्थित भएका छैन । 

साथै, सर्वोच्च अदालतमा अधिवक्ता गौतमले मानहानिको मुद्दा दर्ता गरेकी छन् सुनारले सामाजिक सञ्जालमा गालीगलौजपूर्ण अभिव्यक्ति दिएका र निजी जानकारी सार्वजनिक गरेको आरोप छ। सुनार दलित अभियानताका रूपमा चिनिँदै आएका उनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सिफारिस गरिएको थियो। उनको अहिले साढे २ बजे शपथग्रहणको कार्यक्रम तय भएको छ। तर, उनीविरुद्ध विभिन्न अभियोगमा मुद्दा चलिरहेकाले गर्दा चौतर्फी विरोध भइरहेको छ ।