बजार पुँजीकरणका आधारमा ठुला कम्पनीहरू: विशाल बजार अग्रस्थानमा, बैंकमा नबिल ठुलो


काठमाडौं – असोज महिनामा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूमध्ये विशाल बजार कम्पनी लिमिटेड सबैभन्दा ठुलो बजार पुँजीकरण भएको कम्पनी बनेको छ । नेप्सेले सार्वजनिक गरेको विवरणअनुसार असोजमा विशाल बजारको बजार पुँजीकरण १ खर्ब ९१ अर्ब ७ करोड रुपैयाँ पुगेको छ ।

बजार पुँजीकरणले कुनै कम्पनीको कुल बजार मूल्य जनाउँछ । यसले कम्पनीको आकार, विश्वसनीयता, र बजारमा लगानीकर्ताको विश्वास कस्तो छ भन्ने देखाउँछ ।

दोस्रो स्थानमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेड छ । यसको बजार पुँजीकरण १ खर्ब ६७ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । सोही क्रममा तेस्रो स्थानमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड छ । यसको बजार पुँजीकरण १ खर्ब ५२ अर्ब २४ करोड रुपैयाँ रहेको नेप्सेले जनाएको छ ।

त्यसपछि नबिल बैंक लिमिटेड  र सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट छन् । नबिलको बजार पुँजीकरण १ खर्ब ३७ अर्ब ७२ करोड रुपैयाँ रहेको छ । बैंकिङ्ग समूहकै ठुलो कम्पनीको रुपमा दरिएको छ । सिटिजन इन्भेस्टमेन्ट ट्रस्टको पुँजीकरण १ खर्ब १८ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।

शीर्ष १० कम्पनीमध्ये बैंकिङ्ग र बीमा क्षेत्रका कम्पनीहरू हाबी देखिएका छन् । ग्लोबल आइएमई बैंक, एभरेस्ट बैंक, हिमालयन रिइन्स्योरेन्स कम्पनी, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआइएमबी) र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पनि ठुलो बजार पुँजीकरण भएका कम्पनीहरूको सूचीमा परेका छन् ।