जेनजी आन्दोलनमा प्रहरीमाथि आक्रमण र हतियार लुटपाटमा संलग्न व्यक्ति पक्राउ


काठमाडौं – भदौ २४ गते भएको प्रदर्शनका क्रममा प्रहरीमाथि आक्रमण, आगजनी र हतियार लुटपाटमा संलग्न भएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखा घर भई काठमाडौं महानगरपालिका–३२, जडीबुटी  बस्ने गौतम घिसिङ हुन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंले जारी गरेको प्रेस विज्ञप्तिअनुसार  प्रदर्शनको क्रममा सार्वजनिक सम्पत्तिमा तोडफोड, प्रहरी वृत्त नयाँ बानेश्वरमा आगजनी, र प्रहरीमाथि सामूहिक आक्रमण गरी बर्दी खोल्न लगाई बाग्मती खोलामा गम्भीर आक्रमण गर्ने कार्यमा घिसिङ संलग्न रहेका थिए। सो क्रममा उनले र उनका साथिहरूले ड्यूटीमा खटिएका प्रहरीको हतियार र गोलीगठ्ठा समेत लुटपाट गरेको आरोप लगाइएको छ।

उक्त घटनामा संलग्न घिसिङलाई ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रव सम्बन्धी कसुरमा पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी अनुसन्धानका क्रममा उनले यसअघि पनि २०७९ साल असोज ४ र फागुन १० गते काठमाडौंको प्रहरी वृत्त गौशालामा बैंकिङ्ग कसुर मुद्दा दर्ता भई फरार रहेको तथ्य खुलेको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।