काठमाडौं -धनतेरसमा देशभर ६० किलोग्राम सुन कारोबार भएको छ । नेपालीहरुको दोस्रो ठूलो चाडकारुपमा रहेको तिहारमा धनतेरसको अवसर पारेर घरमा सुनचाँदी लगायत हिरा तथा रत्न घर ल्याउने प्रचलन जोडतोडले विकसित हुँदै गइरहेको छ । यहीअवसरमा शनिबार अर्थात धनतेरसमा ६० किलोग्राम सुन बिकेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस वर्षको धनतेरसमा कम्तिमा पनि १०० किलोग्राम सुन बिक्रीको अपेक्षा राखिएको थियो । तर, अपेक्षाभन्दा न्यून कारोबार भएको र त्यो ६० किलोग्राम आसपास रहेको महासंघको भनाई छ । महासंघका उपाध्यक्ष धर्म सुन्दर बज्राचार्यले धनतेरसमा अपेक्षाभन्दा न्यून सुन किनबेच भएको बताउँछन् ।
खासगरी, हिन्दुहरु तिहारमा धनतेरसमा सुनचाँदीसँगै हिरा र रत्न किनेर ल्याएमा धनकी देवी लक्ष्मीले वरदान दिने विश्वास राख्छन् । यहीकारण, धनतेरसको अवसरमा र लक्ष्मी पूजाको अवसरमा घरमा सुन र चाँदी भित्र्याउने प्रचलन बढ्दो छ । यहीकारण, यस वर्षको तिहारमा समेत ३०० किलोग्रामभन्दा बढी सुन बिक्री भएको महासंघले जनाएको छ ।
१ अर्ब ३३ करोडको बिक्यो
धनतेरसमा देशभरका सुनचाँदी व्यवसायीहरुले ६० किलोग्राम सुन बिक्री गरेको महासंघको भनाई छ । यद्यपी, यो तथ्यांक अनुमाति हो । यसअनुसार एक किलोग्राम सुनमा ८५ तोला ७३ लाख सुन हुन्छ । जुन, ८६ तोला नजिक हो । यसआधारमा ६० किलोग्राम सुन बिक्दा पनि ५ हजार १६० तोला हुन आउँछ ।
शनिबार सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ थियो । यसआधारमा शनिबार धनतेरसको दिन १ अर्ब ३३ करोड १२ लाख रुपैयाँ बराबरको सुन बिक्री भएको हो । यो गत वर्षभन्दा बढी भएको महासंघका पूर्व अध्यक्ष मणिकरत्न शाक्य बताउँछन् । उनकाअनुसार गत वर्ष ४० देखि ५० किलोग्राम सुन बिक्री भएको थियो ।
कोरोना महामारी र रुस–युक्रेन युद्धका कारण सुनको मूल्य बढेपछि गत वर्ष यो समयमा १ लाख ६८ हजार रुपैयाँ थियो । तत्कालिन समयमा समेत अत्याधिक मूल्यवृद्धिका कारण सर्वसाधारणले न्यून मात्रामा सुन किनेका थिए । तर, निरन्तर बढ्दो अवस्थामा रहँदा मूल्य बढ्ने अपेक्षासहित सुन किन्नेहरुको संख्या बढेको शाक्य बताउँछन् ।
२ हजार किलोभन्दा बढी बिक्यो चाँदी
धनतेरसमा चाँदी भने हजारौं किलोग्राम बिकेको छ । पछिल्लो समय निरन्तर बढ्दो अवस्थामा रहेको चाँदीमा लगानीकर्ता र सर्वसाधारण झुम्मिनेक्रम बढ्दो छ । गत वर्षकोभन्दा मूल्य बढेपनि सर्वसाधारणको पहुँच भित्रै रहँदा चाँदी किन्नेहरुको भिड लागेको महासंघले जनाएको छ ।
अनुमानित तथ्यांकअनुसार देशभरका १० हजारभन्दा धेरै सुन पसलबाट २ हजार किलोग्राभन्दा धेरै चाँदी बिकेको हो । तथ्यांकअनुसार २ हजार किलोग्राम सुनको कूल मूल्य ५७ करोड ६२ लाख रुपैयाँ आसपास हुन आउँछ ।





About Us
प्रतिक्रिया