काठमाडौं – प्रहरी दिवसको अवसरमा प्रदान गरिने १ लाख धनराशिको एघारौँ ‘साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार’ यस वर्ष इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टी, सुनसरीमा कार्यरत प्रहरी निरीक्षक दिवश कुँवर र जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत प्रहरी नायव निरीक्षक निर बहादुर खडकालाई प्रदान गरिएको छ ।

कोशी प्रदेश अन्तरगत वर्ष भरीमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरू मध्येबाट सर्वोत्कृष्ट छनौट भएका दुवै जनालाई ७० औँ प्रहरी दिवसका अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले पुरस्कृत गरेको हो । उत्कृष्ट कार्य, इमानदारी, अनुशासन र समाजमा शान्ति सुरक्षा, आम नागरिकहरू प्रति प्रहरीको छवि उच्च बनाउने कार्यमा प्रशंसनीय कार्य गरेकोले उनीहरूले गरेको कामको उच्च मूल्याङ्कन गर्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले १ लाख धनराशिको साधनादेवी प्रहरी पराक्रम पुरस्कारले उनीहरूलाई पुरस्कृत गरेको हो ।
पुरस्कृत हुने प्रहरी निरीक्षक कुँवर र प्रहरी नायव निरीक्षक खडकालाई अक्षयकोषका संस्थापक बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रोफेसर डाक्टर विक्रम प्रसाद श्रेष्ठले १ लाख धनराशिको चेक प्रदान गरिएको थियो भने ‘साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार’ अक्षयकोषका संस्थापक डाक्टर विक्रम प्रसाद श्रेष्ठलाई प्रमुख अतिथि कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले दोसल्ला ओढाई सम्मान गरे । कुँवर र खडकाले आफूहरूबाट सम्पादित कार्यहरूको उच्च मूल्याङ्कन गर्दै उत्कृष्ट प्रहरीको रूपमा ‘साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार’ बाट सम्मानित गरेकोमा अबका दिनहरूमा अझ बढी जिम्मेवार भएर पदीय दायित्व निर्वाह गर्ने बताएका छन् ।






About Us
प्रतिक्रिया