एसपी गोविन्द पुरीलाई ‘उत्कृष्ट प्रहरी कार्य पुरस्कार’


काठमाडौं – प्रहरी दिवसको ७०औँ अवसरमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीलाई ‘उत्कृष्ट प्रहरी कार्य पुरस्कार’ प्रदान गरिएको छ।

नेपाल प्रहरीको पेसागत मर्यादालाई आत्मसात् गर्दै शान्ति–सुरक्षा, अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा उल्लेखनीय योगदान दिएको कदर स्वरूप बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी अरुण पौडेलले पुरीलाई प्रशंसा पत्रसहित सम्मान गरेका हुन् । 

एसपी पुरीले नारायणगढ–मुग्लिन सडकखण्डको तुईन खोला क्षेत्रमा गएको पहिरोका बेला विपद् व्यवस्थापनमा असाधारण नेतृत्व देखाउँदै राहत, उद्धार र समन्वय कार्य प्रभावकारी रूपमा अगाडि बढाएका थिए। उनले सिडियो गणेश अर्यालसहित फिल्डमै खटिएर अलपत्र यात्रुलाई व्यापारी चन्दन अग्रवालको सहयोगमा राहत वितरण गरेका थिए, जसले ठुलो अप्रिय घटना हुनबाट चितवनलाई जोगाएको थियो।

उनको नेतृत्वमा चितवनमा शान्ति–सुरक्षा सुदृढ बनाइएको छ। चोरी, गुण्डागर्दी, बिचौलियाको प्रभाव र लागु औषध तस्करी नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गर्दै उनले प्रहरी सेवाको मुहार फेरेका छन् ।