जेनजी प्रदर्शनमा आगजनी भएका ४०१ प्रहरी कार्यालय पुनः सञ्चालनमा


काठमाडौं – भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा उच्छृङ्खल समूहले आगजनी गरेको ४६५ मध्ये ४०१ वटा प्रहरी कार्यालय पुनर्स्थापना भई सञ्चालनमा आएको प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङले जानकारी दिएका छन् । 

७० औं प्रहरी दिवसको अवसरमा आयोजित अमर प्रहरी प्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा बोल्दै खापुङले समुदाय स्तरबाट स्वतःस्फूर्त रूपमा ती कार्यालय सञ्चालनमा आएको बताए । उनले नेपाल प्रहरीमा हाल ७९ हजार ५४१ जनशक्ति कार्यरत रहेको बताउँदै देशभर ९३९ स्थानमा नयाँ प्रहरी इकाई स्थापना गर्न माग रहेको उल्लेख गरे।

खापुङले थप भने, ‘हामीलाई थप २५ हजारभन्दा धेरै जनशक्ति आवश्यक पर्ने कुरा गौरवका साथ जानकारी गराउन चाहन्छु।’ प्रहरीको व्यवहारमाथि उठेका प्रश्न चिन्हलाई नजरअन्दाज गर्न नमिल्ने उनले जोड दिए।