७०औं प्रहरी दिवस: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा भव्य समारोह


काठमाडौं – सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलालीको आयोजनामा आज ७० औं प्रहरी दिवस २०८२ भव्य समारोहका साथ सम्पन्न गरिएको छ । समारोहको प्रमुख आतिथ्य सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर रानाले गरेका हुन् ।

कार्यक्रममा नेपाल प्रदेश प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र शाही, नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरका प्रमुख प्रहरी उपरीक्षक राम प्रकाश शाह, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्र, सुदूरपश्चिम प्रदेश प्रहरी गणका प्रमुख प्रहरी उपरीक्षक बिरेन्द्र थापा, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र बहादुर चन्द, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक प्रेम शाहीसहित पूर्व प्रहरी पदाधिकारी, अमर प्रहरीका आश्रित परिवार तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रमका क्रममा प्रहरी उपरीक्षक गौतम मिश्रले प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङको शुभकामना सन्देश वाचन गरे ।  सो अवसरमा प्रमुख अतिथि ओम बहादुर रानाले सुदूरपश्चिम प्रदेश अन्तर्गत उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी अधिकृत तथा जवानहरूलाई पुरस्कार वितरण गरे । साथै, प्रहरी दिवसको अवसरमा आयोजित ब्याडमिन्टन र फुटबल प्रतियोगिताका विजेता तथा उपविजेता टोलीका खेलाडीहरूलाई पनि सम्मान गरिएको थियो।