तिहार, छठ र नेपाल संवत् लक्षित प्रहरीको अनुरोध सामाजिक सञ्जालमा ‘गाउँ गइरहेको’ पोस्ट नगरौं


काठमाडौं – नेपाल प्रहरीले तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आज देखि विशेष सुरक्षा योजना लागू गरेको छ आगामी तिहार (दीपावली), छठ पर्व तथा नेपाल संवत् ११४६ लाई सुरक्षात्मक र अपराधमुक्त बनाउन जिल्ला प्रहरी परिसर काठमाडौंले सर्वसाधारण नागरिकलाई सतर्क रहन विशेष अनुरोध गरेको हो । 

प्रहरीले सुख, शान्ति र आपसी सद्भावका साथ चाडपर्व मनाउन आग्रह गर्दै कुनै पनि अवाञ्छित गतिविधि वा शंकास्पद घटना देखिएमा तुरुन्तै १०० नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको हो । प्रहरीले जारी गरेको १८ बुँदे निर्देशनमा देउसी–भैलो मर्यादित र सभ्य ढङ्गले खेल्न, जुवा–तास तथा आतिशबाजी नगर्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन र ट्राफिक नियमको पूर्ण पालना गर्न विशेष जोड दिएको छ। त्यस्तै, आतिशबाजी वा पटाका पड्काउने कार्य मुलुकी अपराध संहिता, २०७४ अनुसार तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने चेतावनीसमेत दिइएको छ।

आर्थिक सुरक्षाका लागि प्रहरीले विद्युतीय माध्यमबाट मात्र कारोबार गर्न, नगद वा बहुमूल्य सामानहरू लकरमा सुरक्षित राख्न र अपरिचित व्यक्तिबाट खानेकुरा नखान सुझाव दिएको छ। साथै, लामो समयका लागि घर बाहिर जाने भए नजिकको प्रहरी वा विश्वासिलो छिमेकीलाई जानकारी गराउन समेत अनुरोध गरिएको छ।

प्रहरीले नागरिकहरूलाई सामाजिक सञ्जालमा ‘गाउँ गइरहेको’ वा ‘घर बाहिर भएको’ जानकारी पोस्ट नगर्न आग्रह गर्दै सम्भावित चोरी वा ठगीबाट जोगिन सचेत गराएको छ।