काठमाडौं – नेपालले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको छैठौं समीक्षा सम्पन्न गरेको छ। उक्त समीक्षापछि कोषले नेपाललाई ४ करोड ३० लाख अमेरिकी डलर निकासा गर्न अनुमति दिएको छ । यससँगै नेपालले उक्त कार्यक्रमअन्तर्गत हालसम्म ३४ करोड १२ लाख अमेरिकी डलर प्राप्त गरिसकेको छ ।
आइएमएफ कार्यकारी बोर्डले कोरोना महामारीको समयमा २०७८ पुसमा नेपाललाई विस्तारित कर्जा सुविधा अन्तर्गत चार वर्षभित्र ३९ करोड ८८ लाख अमेरिकी डलर सहुलियतपूर्ण कर्जा दिने निर्णय गरेको थियो। जसमध्ये नेपालले पाँचौ किस्ता पाइसकेको छ। अब नेपालका लागि अन्तिम किस्ता निकासा हुनेछ।
यस्तै, कोषका अनुसार आर्थिक वृद्धि दर २०२४/२५ को आर्थिक वर्षमा करिब ४.३ प्रतिशत पुग्ने अनुमान गरेकाे छ। त्यस्तै, मूल्यवृद्धि (महँगाइ) नेपाल राष्ट्र बैंकको ५ प्रतिशतको लक्ष्यभित्रै रहने अपेक्षा गरिएको छ।
कोषका अनुसार, नेपालले विस्तारित कर्जा सुविधा अन्तर्गतका सुधार कार्यक्रमहरू कार्यान्वयनमा उल्लेखनीय प्रगति हासिल गरेको छ । यसले नेपालको समग्र अर्थतन्त्रलाई गतिशील बनाउँदै आर्थिक स्थायित्व सुनिश्चित गर्न मद्दत गरेको कोषले जनाएको छ । कोषले हालैको जेन जी आन्दोलनपछि नेपालमा सुशासन र पारदर्शिताप्रति राजनीतिक चेतना बढेको बताउँदै, यसले दीर्घकालीन आर्थिक सुधारका लागि सकारात्मक प्रभाव पार्ने उल्लेख गरेको छ ।
आईएमएफका अनुसार निर्माण, उत्पादन र जलविद्युत् क्षेत्रमा पुनरुत्थान, साथै सन्तोषजनक कृषि उत्पादनले अर्थतन्त्रलाई सुदृढ बनाएको छ। सन् २०२४ सेप्टेम्बरको बाढीले असर पारे पनि कृषि उत्पादनले त्यसलाई केही हदसम्म क्षतिपूर्ति गरेको बताइएको छ।
काेषले बैंकिङ्ग क्षेत्रमा असल ऋणको गुणस्तर कमजोर हुँदै गएको र अवस्थित गैर–कर्जा असुली बढ्दै गएको जनाएकाे छ । साथै,बैंकहरूको पूँजीमा दबाब सिर्जना गर्नुका साथै सहकारी संस्थाहरूको वित्तीय अवस्था अझै पनि चुनौतीपूर्ण रहेको उल्लेख गरेकाे छ ।






About Us
प्रतिक्रिया