काठमाडौंमा नक्कली नोटसहित ३ जना पक्राउ

काठमाडौंमा नक्कली नोटसहित ३ जना पक्राउ


बैंकिङ्ग समाचार, काठमाडौं । 
काठमाडौंको गोलढुंगाबाट नक्कली नोटसहित तीन जना पक्राउ परेका छन् । स्थानीय हिम्मत बमको घरको भुइँतलामा भाडामा बस्ने खोटाङ दिप्रुङ गाउँपालिका–५ का लक्ष्मी पाण्डे, लमजुङ दोर्दी गाउँपालिका–२ का सुवास गुरूङ र रामेछाप गोकुलगंगा गाउँपालिका–१ का मदन दमाईलाई  प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु ३ जनालाई मंगलबार साँझ तारकेश्वर नगरपालिका ५ गोलढुङ्गाबाट सशस्त्र प्रहरीको टोलीले नक्कली नेपाली नोटसहित पक्राउ गरेको हो । सशस्त्र प्रहरीले उनीहरुको कोठाबाट नेपाली रुपैयाँ १ हजार दरको १८२ थान नक्कली नोट र नोट बनाउन प्रयोग हुने कागज २०० थान बरामद भएको जानकारी दिएको छ । नोट छाप्न प्रयोग हुने मेसिन फेला नपरेकाले अन्यत्रबाट नक्कली नोट बनाएर त्यहाँ ल्याइराखेको आशंका प्रहरीको छ ।

यसैगरी मोबाइल चार थान,  सिमकार्ड दस थान र बा६५प ९०२७ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ । बरामद गरिएको सामानसहित उनीहरूलाई आवश्यक कारबाहीका लागि स्थानीय प्रहरीलाई बुझाइएको छ ।