काठमाडौं – नेपाल राष्ट्र बैंकले विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेको बताएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिनाको तथ्याङ्कले विप्रेषण आप्रवाह बढेको देखाएको हो । चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेर ३ खर्ब ५२ अर्ब ८ करोड पुगेको छ ।
केन्द्रीय बैंककाअनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.८ प्रतिशतले बढेको थियो । २०८२ भदौ महिनाको विप्रेषण आप्रवाह १ खर्ब ७४ अर्ब ६७ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब २७ अर्ब ९९ करोड रहेको थियो ।
यस्तै, राष्ट्र बैंककाअनुसार समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले बढेर २ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.२ प्रतिशतले बढेको थियो । यता, खुद द्वितीय आय (खुद ट्रान्सफर) ३ खर्ब ८४ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २ खर्ब ८७ अर्ब ७६ करोड रहेको थियो ।
राष्ट्र बैंकले यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८८४ रहेको बताएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ७६ हजार ४८५ र ४० हजार ५८३ रहेको थियो ।






About Us
प्रतिक्रिया