बैंक तथा वित्तीय संस्थामा साढे ३ अर्ब निक्षेप राख्दै राष्ट्र बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा ३ अर्ब ३० करोड रुपैयाँ निक्षेप राख्ने भएको छ । केन्द्रीय बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम निक्षेप राख्न लागेको हो । केन्द्रीय बैंकले उक्त रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने भएकाे हाे ।

राष्ट्र बैंकले उक्त रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाले दिने ब्याजदर समेत उल्लेख गरेर लिन चाहेको रकम खुलाइ गोप्य सिलबन्दी मार्फत पेस गर्न आह्वान गरेको छ ।

३ अर्ब ३० करोडमध्ये केन्द्रीय बैंकले वाणिज्य बैंकमा २ अर्ब ६४ करोड, विकास बैंकहरूमा ४९ करोड ५० लाख र फाइनान्स कम्पनीहरूमा १६ करोड ५० लाख रुपैयाँ निक्षेप राख्नेछ ।

यसरी निक्षेप राख्दा केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई विभिन्न शर्त पनि तोकेको छ । केन्द्रीय बैंकका लागि उक्त निक्षेप लिन बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनपर्नेछ ।