राष्ट्रिय परिचयपत्र प्रणालीसँग जोडियो वैदेशिक रोजगार सूचना प्रणाली


काठमाडौं – वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन हालसम्म वैदेशिक रोजगारमा जाने नेपाली नागरिकहरूले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) मा प्रविष्ट गरी श्रम स्वीकृती लिई जानुपर्ने व्यवस्था छ। यसरी श्रम स्वीकृति लिनु पूर्व अभिमुखीकरण तालिम प्रदायक संस्थाबाट अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था रहेको छ। हालसम्म उक्त तालिममा सहभागी हुने व्यक्ति राहदानीबाहेक व्यक्ति भए नभएको यकिन हुने अवस्था थिएन। 

अझ भन्दा वैदेशिक रोजगारमा जाने व्यक्ति स्वयं उपस्थित नभएर अरू नै व्यक्तिको बायोमेट्रिक प्रविष्ट गरे पनि श्रम स्वीकृति प्रणालीमा जाँच गर्ने प्रावधान थिएन। यसै बीच व्यक्ति पहिचानलाई थप प्रभावकारी बनाउन वैदेशिक रोजगार विभाग र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबिच गत भाद्र महिनामा भएको संयुक्त बैठकको निर्णयबाट वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट सञ्चालनमा ल्याएको नेसनल आइडेन्टिटी म्यानेजमेन्ट इन्फरमेसन सिस्टम्स -(एनआइडिएमआइएस) सँग जोडिएको हो।

सैद्धान्तिक रूपमा निर्णय भएपछि सफ्टवेयर प्रदायक कम्पनी र दुवै विभागका प्राविधिकहरूले आबद्धता सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गरेपछि विभागले आधिकारिक निर्णय गरी आगामी असोज २९ गते बुधबारेदेखि यो प्रणाली अनिवार्य गर्ने गरी सूचना जारी गरेको छ। 

यसरी एफइआइएमस प्रणाली र एनआइडिएमआइस प्रणाली अन्तरआवद्ध हुँदा तालिम प्रदायक संस्थाले वास्तविक सेवाग्राहीलाई मात्र तालिम दिनुपर्ने, वैदेशिक रोजगारीमा जाने व्यक्तिको तथ्याङ्क एकीकृत रूपमा प्राप्त गर्न सकिने, वैदेशिक रोजगारमा जाने व्यक्तिलाई गन्तव्य मुलुकको भौगोलिक, भाषिक, सांस्कृतिक तथा ट्राफिक नियमबारे सामान्य जानकारी गराउने, यात्रा पूर्वको तयारी र यात्राको क्रममा पुरा गर्नुपर्ने प्रक्रिया बारे जानकारी गराउने, वैदेशिक रोजगारीको सिलसिलामा आउन सक्ने समस्या र समाधानका उपायका बारेमा जानकारी गराउने, कामदारले गर्न हुने र गर्न नहुने काम तथा रोजगारदातासँग करार गर्दा ध्यान दिनुपर्ने विषयमा जानकारी गराउने,कामदारले पाउने सेवा सुविधा एवं वित्तीय साक्षरता बारेमा जानकारी गराउने जस्ता कार्य भई वैदेशिक रोजगार अझ बढी सुरक्षित, व्यवस्थित र मर्यादित हुन जान्छ। 

विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले अबदेखि अभिमुखीकरण तालिममा वास्तविक व्यक्ति पहिचान भएपश्चात् मात्र ब्याच हाल्न मिल्ने र व्यक्ति स्वयं उपस्थित भई कक्षामा सामेल हुनुपर्ने बाध्यकारी व्यवस्था लागु भएको बताएका छन्। जसको लागि वैदेशिक रोजगारमा जाने व्यक्ति श्रम स्वीकृतिको प्रणालीमा आउनु पूर्व राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणालीमा आबद्ध भइसकेको हुनुपर्नेछ। जसको लागि सम्पूर्ण तयारी पूरा भएता पनि ३ दिनपछिदेखि मात्र अनिवार्य गरिएको महानिर्देशक भट्टराईले बताए।

भट्टराईका अनुसार पहिलो चरणमा अभिमुखीकरण तालिममा व्यक्ति पहिचानमा मात्र प्रणाली आबद्ध गरिएको र आगामी दिनमा क्रमशः श्रम स्वीकृति, स्वास्थ्य परीक्षण र अध्यागमनको प्रणालीसँग आबद्ध गरी वास्तविक व्यक्ति पहिचान गर्न सकिने छ।