लगानी बढ्न नसक्दा बैंकिङ्ग प्रणालीमा अत्यधिक तरलता, असोज लागेयता राष्ट्र बैंकले उठायो साढे ३ खर्ब

आज पुनः ५० अर्ब तान्दै राष्ट्र बैंक


काठमाडौं – बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा लगानी बढ्न नसक्दा यतिबेला बैंकिङ्ग प्रणालीमा अत्यधिक तरलता थुप्रिएर बसेको छ । बैंकिङ्ग क्षेत्रको तरलता व्यवस्थापनमा नेपाल राष्ट्र बैंकलाई निकै असहज भइरहेको छ ।

यस्तो समयमा अत्यधिक तरलता व्यवस्थापनका लागी राष्ट्र बैंकले हरेक दिनजसो बैंकिङ्ग प्रणालीबाट तरलता प्रशोचन गर्दै आइरहेको छ । यहीक्रममा केन्द्रीय बैंकले असोज महिनामा मात्रै ३ खर्ब ६० अर्ब बढी तरलता प्रशोचन गरिसकेको छ ।

केन्द्रीय बैंकले असोज लागेयता ५ पटक तरलता प्रशोचन गरिसकेको छ । केन्द्रीय बैंकले असोज २ गते ९० अर्ब, ५ गते ७० अर्ब, ८ गते ४० अर्ब, २१ गते ९० अर्ब, २२ गते २० अर्ब तरलता प्रशोचन गरेको हो ।

केन्द्रीय बैंकले आज पुन ५० अर्ब तरलता प्रशोचन गर्ने भएको छ । केन्द्रीय बैंकले ७ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएको हो । यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी कात्तिक २ गते हुनेछ ।

केन्द्रीय बैंकले यसमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिने बताएको छ । निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने बताएको छ ।