२५ करोडको सीमा हटेपछि शेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ५ अर्बभन्दा बढी


काठमाडौं – नेपाल राष्ट्र बैंकले हिजो एक सर्कुलर जारी गर्दै शेयर बजारमा लागिरहेको २५ करोडको ऋणको सीमा हटाएपछि आज शेयर बजार दोहोरो अंकले बढेको छ । दसैं बिदा पछि खुलेको शेयर बजारमा लगातार दुई कारोबारको दिन भारि अंकले घटेको बजार २५ करोडको ऋणको सीमा हटाएको पहिलो कारोबारको दिनमै नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेर बन्द भएको हो ।

आज (बिहिबार) नेप्से परिसूचक २२.५९ अंकले बढेसँगै ५ अर्ब २७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीले २७ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेको छ। त्यस्तै, यूनियन हाइड्रोपावरको २७ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज दिनभरिमा ३१३ कम्पनीले शेयर कारोबार गर्दा सबैभन्दा धेरै बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताहरूले ८.२१ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले आज ९.९ प्रतिशतका दरले गुमाएका हुन् ।