जेनजी आन्दोलनबाट २३ अर्ब २२ करोडको बीमा दावी, प्राधिकरणले किन समायोजन गर्यो तथ्यांक ?


काठमाडौं – हालैको आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दावी रकम बुधबार (असोज २२ गते) सम्ममा सबै निर्जीवन बीमा कम्पनीमा गरी करिव २३ अर्ब २२ करोड ८७ लाख रूपैयाँ पुगेको छ ।

विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कूल ३ हजार ९९ वटा बीमा दावीको करिव २३ अर्ब २२ करोड ८७ लाख दावी रकम रहेको तथ्यांक निर्जीवन बीमा कम्पनीहरूबाट प्राधिकरणमा प्राप्त भएको छ । निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल दावी रकममध्ये बुधबारसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव १ अर्ब २९ करोड १९ लाख भुक्तानी भएको छ ।

निर्जीवन बीमा कम्पनीहरूले क्षतिको सर्भे प्रतिवेदन तयारीका लागि बुधबारसम्ममा २ हजार ७०६ को संख्यामा सर्भेयर खटाएको र हालसम्ममा सर्भेयरहरूले ३७४ को संख्यामा सर्भे प्रतिवेदन पेश गरेको जानकारी निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको छ ।

तर, प्राधिकरणले यसअघि वेभसाइटमा हालसम्म २३ अर्ब ३९ करोड रुपैयाँको बीमा दाबी परेको जानकारी गराएको थियो । जबकी, पछिल्लो तथ्यांकअनुसार २३ अर्ब २२ करोड रुपैयाँको दावी परेको प्राधिकरणले जनाएको छ । अघिल्लो तथ्यांकको तुलनामा १७ करोड तथ्यांक समायोजन भएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशिलदेव सुवेदीले यसअघिको तथ्यांकसँग ‘कम्पाइल’ गर्दा कतिपय बीमा दाबी दोहोरिएको पाइएपछि तथ्यांक समायोजन गरेको बैंकिङ्ग समाचारलाई बताए । उनकाअनुसार कम्पनीहरुले नजानेरै दुई पटकसम्म दावी आएको देखिएको छ । यहीकारण, बीमा कम्पनीहरुले आधिकारिक पुष्टी नगर्दासम्मलाई ‘लोअर’ तथ्यांकलाई आधिकारिक मानेको बताउँछन् ।