नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने समय लम्बियो, अब कात्तिक ९ गतेसम्म आवेदन दिन सकिने


काठमाडौं – नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ।  बैंकको १०० प्रतिशत हकप्रद शेयरमा अब कात्तिक ९ गतेसम्म आवेदन दिन सकिने भएको हो। 

बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो। यस अनुसार बैंकले २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्कासनमा ल्याएको छ।

हकप्रद शेयर निष्कासन प्रयोजनार्थ बैंकले भदौ ९ गते बुक क्लोज गरेको थियो। यस अनुसार भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। बैंकको  हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको भुमही, नवलपरासी शाखा कार्यालय तथा नारायणी डेभलपमेन्ट बैंकको केन्द्रिय कार्यालय, यज्ञपुरी शाखा, टाँडी शाखा, पर्सा शाखा र नारायणगढ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।