ओली र लेखकलाई पक्राउ गर्न दबाब दिँदै जेनजी, प्रधानमन्त्री कार्की सुरक्षा प्रमुखहरूसँग छलफलमा


काठमाडौं – तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न जेनजी अगुवाहरू दबाब दिइरहेका छन् । त्यस क्रममा उनीहरूले सरकारमाथि तीव्र दबाब सिर्जना गरिरहेका बेला प्रधानमन्त्री सुशीला कार्कीले सबै सुरक्षा अङ्गका प्रमुखहरूसँग आकस्मिक छलफल गरेकी छन् । 

जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङको नेतृत्वमा सोमबार दिउँसो जिल्ला प्रहरी परिसर, काठमाडौंमा उपस्थित भई निवर्तमान प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखकविरुद्ध किटानी जाहेरी पेस गरिएको हो। तर, उनीहरूको जाहेरी भने दर्ता भएको छैन । उनीहरूमाथि आन्दोलनका क्रममा दमन र अधिकार हननको गम्भीर आरोप लगाइएको छ।

त्यस्तै, प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद् अन्तर्गतका सबै प्रमुख सुरक्षा निकायहरू नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका प्रतिनिधिसँग सुरक्षा अवस्था र उक्त जाहेरीबारे समन्वय बैठक गरेकी छन्। बैठकमा प्रधानमन्त्रीले कानुनी प्रक्रिया अनुसार निष्पक्ष अनुसन्धान गर्न निर्देशन दिएकी बताइएको छ।

यस घटनाले मुलुकको राजनीति फेरि तनावपूर्ण मोडमा प्रवेश गरेको सङ्केत देखिन थालेको छ। ओली र लेखक पक्षका नेताहरूले भने यो घटनालाई ‘राजनीतिक प्रतिशोध’ को संज्ञा दिँदै न्याय प्रणालीको दुरुपयोग नगर्न चेतावनी दिएका छन् ।