एकैदिन बैंकिङ्ग निक्षेप १६ अर्ब बढ्यो, अन्तर बैंक ब्याजदर २.७५ प्रतिशत

सिडी रेसियो ७५.२१ प्रतिशत


काठमाडौं – बैंकिङ्ग प्रणालीमा एकैदिन १६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार असोज ९ गते बैंक तथा वित्तीय संस्थाहरुमा सो बराबरको निक्षेप थपिएको हो ।

सो दिन बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकैदिन १६ अर्बले बढेर ७४ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो दिन अर्थात् असोज ८ गते बुधबार सम्म बैंक तथा वित्तीय संस्थामा ७३ खर्ब ९१ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।

बैंकका अनुसार उक्त दिन वाणिज्य बैंकहरुमा मात्रै एकैदिन १७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने अन्य वित्तीय क्षेत्रमा ७ खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप रहेको छ । अघिल्लो दिनसम्म ६६ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप रहेको वाणिज्य बैंकमा निक्षेप बढेर ६६ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ । सो अवधिमा बैंकिङ्ग प्रणालीमा १६ अर्ब निक्षेप थपिँदा ६ अर्ब रुपैयाँ कर्जा लगानी भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले यस अवधिमा ५६ खर्ब ४० अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। जसमध्ये वाणिज्य बैंकहरुको कर्जा लगानी ५० खर्ब १६ अर्ब रुपैयाँ रहेको छ भने अन्य वित्तीय क्षेत्रले ६ खर्ब २४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । समिक्षा अवधिमा अन्तर बैंक कारोबारको ब्याजदर २.७५ प्रतिशत रहेको छ भने सिडी रेसियो ७५.२१ प्रतिशतको बिन्दुमा झरेको छ ।