सार्वजनिक बिदा फिर्ता भएपनि खुलेन शेयर बजार


काठमाडौं – शेयर बजार आज (असोज २० गते) नखुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सोमबारको बिदा कटौती गरेर सबै प्रकारका कार्यालय खोल्न निर्देशन दिएपनि (नेपाल स्टक एक्चेन्ज) नेप्सेले भने आज शेयर कारोबार नखुलाउने भएको हो । अब शेयर बजार भोली अर्थात् असोज २१ गतेदेखि हुनेछ।

दसैं बिदाका कारण नेप्से गत सोमबारदेखि बन्द छ । बिदा सकिएसँगै आइतबारदेखि बजार खुला हुने भनिएको थियो । तर, अविरल वर्षाका कारण राजमार्ग तथा हवाइ उडान अवरुद्ध भएसँगै आइतबार र सोमबारका लागि सरकारले सार्वजनिक विदा घोषणा गरेको थियो ।

तर, मौसममा सुधार आएपछि काठमाडौं लगायत जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयले सोमबार कार्यालय खोल्ने व्यवस्था गर्न निर्देशन दिएको थियो । तर,शेयर बजार भने आज नखुल्ने भएको छ ।

यसअघिको अन्तिम शेयर कारोबारको दिन नेप्से ११.५१ अंकले बढेर २६ सय ६३ दशमलव ५१ को विन्दुमा पुगेको थियो । यसदिन २ अर्ब ९३ करोड ५९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।