दसैंमा नयाँ नोट नछाप्दा जोगिनेछ राज्यकोषको अर्बौं रकम


काठमाडौं – दसैं आउनासाथ धेरै नेपालीको एउटा खास चाहना हुन्छ, नयाँ र सुकिला नयाँ नोट । मान्यजनको हातबाट टिका लगाउँदा नयाँ नोट राखेर आशिर्वाद लिने चलनले यसले विशेष महत्व पाएको छ । तर, पछिल्ला दुई वर्षदेखि यो चाहना अधुरो बनेको छ ।

नेपाल राष्ट्र बैंकले यस वर्ष पनि दसैंका लागि नयाँ नोट निष्कासन नगर्ने घोषणा गरेको छ । सुकिला नोट भने वितरण भइरहेको छ, तर नयाँ छापिएका नोटहरू भने बजारमा ल्याइँदैनन् । यो निर्णय राष्ट्र बैंकका लागि नयाँ होइन । वि.सं. २०६०/६१ देखि दसैं–तिहारलाई लक्षित गरेर नयाँ नोट वितरण गर्ने परम्परा सुरु भएको थियो । तर, गत वर्षदेखि राज्यकोषमा पर्ने अतिरिक्त भार कम गर्ने उद्देश्यले नयाँ नोट नछपाउने नीति अपनाइएको हो ।

केन्द्रीय बैंकको आँकलनअनुसार, हरेक वर्ष नयाँ नोट छाप्न र वितरण गर्न मात्रै करिब २ अर्ब रुपैयाँ खर्च हुने गर्छ । खर्च मात्र होइन, प्रयोगको ढाँचा पनि प्रश्नवाचक छ । दसैं तिहारमा वितरण गरिएका ५, १०, २०, ५० र १०० का नोटहरू प्रायः खुद्रा सटही वा तास खेल्ने प्रयोजनमा बढी प्रयोग हुने गरेको पाइएको छ। परिणामस्वरूप, नोटमा अत्यधिक रंग लाग्ने, छिट्टै मैलो हुने र पुरानो देखिने समस्या बढ्छ ।

राष्ट्र बैंकको यो निर्णयले कतिपयलाई निराश पारेको छ, किनभने नयाँ नोटको प्रतीक्षा गर्ने परम्परा अब सम्झनामा मात्र सीमित हुँदै गएको छ । तर अर्कोतर्फ, राज्यकोषको भार घटाउने व्यावहारिक दृष्टिकोणका रूपमा यसलाई अर्थशास्त्रीहरूले सकारात्मक कदमका रूपमा पनि हेर्छन् । तर, दसैं र तिहार सकिएपछि ती सबैजसो नोटमध्ये ६० देखि ७० प्रतिशत नोट बैंकमा फिर्ता आउँछन् र, बैंकमा प्रत्येक वर्ष यसरी नै ठूलो मात्रामा नोट जम्मा हुँदै जाने र राष्ट्र बैंकले नयाँ नोट छाप्दै जाने प्रचलन विगतमा थियो । र, बैंकमा बजारबाट फिर्ता आएका ती खुद्रा नोट ३/४ वर्ष राखेर राष्ट्र बैंकले धुल्याउने गर्छ । फलस्वरुपः राज्य कोषको अर्बौ रुपैयाँ खर्च हुन्छ ।

यही कारण अतिरिक्तरुपमा खर्च भइरहेको राज्यकोषको रकम जोगाउने लक्ष्यसहित केन्द्रीय बैंकले यो वर्ष नयाँ नोट नबाँड्ने निर्णय गरेको राष्ट्र बैंकका कर्मचारी बताउँछन् । दसैंको समयमा बजारमा पठाएका नोटहरूको परिमाणलाई हेर्दा विगत ३ वर्षमा ९० प्रतिशतभन्दा बढी नोटहरू दसैंको समयम नै वितरण हुँदै आएको छ । विगत ३ वर्षदेखि एक पटक मात्रै प्रयोग भएका नयाँ नोटहरू आगामी वर्षसम्म पुग्ने सुकिला नोट राष्ट्र बैंकको विभिन्न कार्यालयमा संकलन भएर बसेको कारण पनि राष्ट्र बैंकले नयाँ नोट निष्कासन नगरेको हो ।

नेपाल राष्ट्र बैंकले ०६०/६१ देखि नयाँ नोेट सटहीको सुविधा दिएको केन्द्रीय बैंकले त्यसअघि सिमित मानिसहरूलाई भने नयाँ नोट दसैंमा प्रदान गर्दै आएको थियो । वर्षेनी ६० देखि ७० अर्ब रुपैयाँ बराबरका नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिने गरेको केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकले ०७७ सालमा पनि नयाँ नोट बाँडेको थिएन ।

सो समयमा कोभिड भाइरसको संक्रमण बढेको हुदाँ नयाँ नोट लिनको लागि सर्वसाधारणको भीडभाड बढ्न सक्ने र जसबाट संक्रमणको जोखिम बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले दसैंमा नयाँ नोट नबाँड्ने बताएको थियो ।हराष्ट्र बैंकले यो पटक दसैंमा नयाँ नोट नदिने भएसँगै खुद्रा नोट व्यवस्थापनमा सहज हुने भएको छ । नयाँ नोट नछाप्दा नगद नोटको मात्रा घट्दा बैंकहरूले थुप्रै नोटको व्यवस्थापन गर्नुपदैन भने नगदको कमी हुँदा चोरी र वित्तीय अनियमितताको सम्भावना कम हुने राष्ट्र बैंकको आकलन छ ।